पेट्रोल कालोबजारी गर्नेलाई तारेख


इ तनहुँ संवाददाता
तनहुँ चैत्र २८
पेट्रोलको कालोबजारी गर्ने दमौलीका २ व्यापारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँले तारेखमा छाडेको छ । पेट्रोलियम पदार्थको अभावको मौकाछोपी किराना पसलबाट चर्काे मुल्यमा पेट्रोल विक्री गर्ने व्यास २ गणेशमान चोकका धनप्रसाद श्रेष्ठ र व्यास ११ बागबजारटोल बस्ने सोममाया नेपालीलाई प्रशासनले मंगलबार तारेखमा छाडेको हो । 
एक लिटर पेट्रोललाई १ सय ६० रुपैयाका दरले बिक्री गर्दै गरेको अवस्थामा उनीहरुलाई सोमबार नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले बताए । उनीहरुबाट झण्डै ५५ लिटर पेट्रोल समेत बरामद भएको प्रहरीले जनाएको छ । 
कालोबजारी गर्ने व्यवसायीलाई पक्राउ गरी प्रहरीले प्रशासन मार्फत मुद्दा चलाउने तयारी गरेपछि स्थानीय व्यापारी मंगलबार दिनभर उनीहरुलाई छुटाउन प्रशासनमा धाएका थिए । बरामद पेट्रोल जफत गरी कालो बजारी गर्ने व्यापारीलाई तारेखमा छाडिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले बताए ।

0 comments

Write Down Your Responses