सुकुम्बासी समस्या समाधान गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
इ तनहुँ संवाददाता
तनहुँ, २ वैशाख
भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतमले सुकुम्बासी समस्या गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीले तनहुँको बन्दिपुर–३ छापमा आयोजना गरेको गोरखा र तनहुँका मोही कृषकसँग भेटघाट कार्यक्रममा मन्त्री गौतमले वर्तमान सरकार कृषक, मजदुरको पक्षमा रहेको बताउँदै सुकुम्बासी, मुक्त कमैया, मुक्त हलिया र बेदर्ता मोहीहरुको समस्या समाधानमा प्रतिबद्ध रहेको बताएका हुन् ।
‘भूमि आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने सरकारले तयारी गरिरहेको छ,’ उनले भने, ‘त्यसले सम्पूर्ण किसानको समस्या समाधान गर्नेछ ।’ बेदर्ता मोहीहरुलाई दर्ता गर्ने प्रक्रिया सरकारले अगाडि बढाइरहेको जानकारी दिँदै मन्त्री गौतमले भने, ‘जग्गा दर्ता नभएका किसानका जग्गा, गुठी, ब्लक लगायतका जग्गा, स्याबासी जग्गा, अव्यस्थित बसोबासीका जग्गाहरु दर्ता गरिनेछ ।’ २०५३ साल भन्दा अगाडि मोही भएकालाई खेती गरेको जग्गा दिइने काम अगाडि बढिरहेको उनले बताए । ‘त्यसपछि मोहीले आधा जग्गा पाउनेछन्,’ उनले भने ।
नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रमा दोब्बर बजेट बनाइने उनको भनाई थियो । कृषि क्षेत्रमा आधुनिकीकरण नगरेसम्म कृषि क्षेत्रको विकास नहुने उनले बताए । नेपालमा राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई समेत अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । सरकारले चार ‘स’ शान्ति, संविधान, समृद्धि र सुशासनलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको उनको भनाई थियो । ‘शान्ति प्रक्रिया करिब–करिब टुङ्गिसकेको छ,’ उनले भने, ‘अब १४ जेठभित्रै पूर्ण संविधान अथवा मस्यौदा संविधान जारी हुने निश्चित भइसक्यो ।’
नेपालमा चर्को भूमिसमस्या रहेको भन्दै उनले नेपालमा रहेका जमिनको उचित सदुपयोग हुन सकेन भावी पुस्ताले धेरै दुःख पाउने बताए । भू–उपयोग नीति नहुँदा देशभरका खेतीयोग्य जमिन प्लटिङमा परिणत हुँदै गएको भन्दै मन्त्री गौतमले त्यस्ता खेतीयोग्य जमिनमा प्लटिङ गर्न नपाउने गरी नीति तयार पार्न लागिएको जानकारी दिए । ‘यो नीति मन्त्रीपरिषद्बाट पास भइसकेको छ,’ उनले भने, ‘कार्यान्वयनमा आएपछि तोकेको मापदण्ड भन्दा बाहिर भूमिको प्रयोग गरे कारवाही हुन्छ ।’ उनले अब सदनबाट यो नीति सम्बन्धी कानुन बनेपछि कार्यान्वयनमा आउने बताए ।
अखिल नेपाल किसान महासंघ क्रान्तिकारी तनहुँका संयोजक छविलाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी राज्य समिति सदस्य दिनेश खनाल, रामबहादुर ढकाल लगायतले मन्तव्य राखेका थिए ।
0 comments
Write Down Your Responses