मानव अधिकारमैत्रि बजेट निर्माण गर्न प्रतिबद्धता
इ तनहुँ संवाददाता
तनहुँ , पुस २४
गाविसको आगामी बर्षको बजेटलाई मानवअधिकार मैत्रि बनाउन पोखरीभाज्याङ गाविसमा कि्रयासिल राजनीतिक दलका नेताहरुले प्रतिबद्धता जनाएका छन् । सोमबार गाविसमा आयोजित योजना तर्जुमा सम्बन्धि तयारी बैठकमा दलका नेताहरुले बजेटले मानवअधिकारको विषयमा सम्बोधन गर्न सक्ने खालको बनाउन आफुहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पोखरीभाज्याङ मानवअधिकार मैत्री बजेट निर्माण गर्न प्रतिबद्धता जनाउने जिल्लाकै पहिलो गाविस हो । कार्यक्रममा एकिकृत नेकपा माओवादीका गाउँ प्रतिनिधि कृष्ण रम्तेल नेपाली काँग्रेसका गाउँ कार्य समितिका सभापति रामबहादुर घर्ती नेकपा एमालेका गाउँ कमिटिका अध्यक्ष गजिन्द्र पन्थ राष्ट्रिय जनमुक्ती पार्टीका अध्यक्ष गंगाबहादुर रानामगरले महिला बालबालिका दलित जनजाती पिछडिएको समुदाय र अपाङ्गता भएका ब्याक्तिहरुको उत्थानको क्षेत्रमा बजेटलाई प्राथमिकतामा पार्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सरकारको निर्देशिका अनुसार बजेट बाँडफाँड गरिने र बजेटमा सबैको अपनत्वको भावना विकास गर्ने गाविस सचिव हुतीमान विकले बताए । बजेटमा सबै क्षेत्रको समान सहभागिता र अधिकार हुनु पर्ने र त्यसको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिदै इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले बजेटलाई विकासमुखी भन्दा अधिकारमुखी बनाउनु पर्ने बताए ।
कार्यक्रममा इन्सेक जिल्ला सहजकर्ता प्रेमप्रसाद पौडेलले गाविसको बजेट मानवअधिकार मैत्रि हुनु पर्नेमा जोड दिएका थिए । गाविस सचिव हुतीमान विकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनजागृति गंगा माविका प्रअ माधव पन्थ सामुदायिक संस्थाहरुको तर्फबाट मधुमाया विक र पोखरी भाज्याङ महिला विकास सहकारी संस्थाकी व्यवस्थापक सरिता रानाभाटले गाविसको बजेटमा भाग बण्डा भएको हुँदा त्यसलाई रोक्नु पर्ने र लक्षित बर्ग सम्म बजेटले सम्बोधन गर्नु पर्ने बताए । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु समाजसेवी विभिन्न संघ संस्थाका प्रतिनिधिहरु आमा समुह बालक्लव तथा युवा क्लवका प्रतिनिधि दलित प्रतिनिधि गरि ३३ जनाको सहभागिता रहेको थियो ।
0 comments
Write Down Your Responses