बालमैत्री संविधान निर्माणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

इ तनहुँ, संवाददाता 
दमौली, माघ २२

    विभिन्न जिल्लाका बालमञ्चका प्रतिनिधिहरुले बालमैत्री संविधान निर्माण गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । तनहुँ, कास्की, गोरखा, लमजुङ र स्याङ्जाका जिल्ला बालमञ्चका प्रतिनिधिहरुको तर्फबाट तनहुँका अध्यक्ष मनराज गुरुङले आइतबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बालमैत्री संविधान निर्माणका लागि पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
    बालमञ्चका प्रतिनिधिहरुले ४ बुँदे मागपत्र सहित बालबालिकाका समस्या समाधानका लागि पहल गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । ज्ञापनपत्रमा सडक बालबालिका र श्रमिक बालबालिकाको व्यवस्थापन र पुर्नस्थापनको लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने, द्वन्द्वकालमा बालबालिकाको हत्या भएको हुँदा बालबालिकाको योगदानको कदर गर्दै देशको भौगोलिक आधारमा केन्द्रविन्दुमा राष्ट्रिय बालउद्यानको निर्माण गर्नुपर्ने, सरकारले बालमैत्री स्थानीय शासन रणनीतिक योजना तथा कार्यविधि २०६८ पारित गरी स्थानीय विकास मन्त्रालय मार्फत् कार्यान्वयन गर्ने निर्णय गरेको हुँदा सबै जिविस र स्थानीय निकायमा सो कार्यविधि तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने लगायतका माग उल्लेख गरिएको छ ।
    ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री डा. भट्टराईले देश संक्रमणकालिन अवस्थामा रहेकोले प्रमुख कार्यभार शान्ति र संविधान भएपनि बालबालिकाको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले आफ्नो तर्फबाट सो माग पूरा गर्न सम्बन्धित क्षेत्रलाई निर्देशन दिने प्रतिबद्धता समेत जनाए ।
    कार्यक्रममा सभासद् ज्ञानेन्द्र कुमाल, जिल्ला बालकल्याण समितिका सदस्य एवं इन्सेक प्रतिनिधि प्रकाशचन्द्र, बालकल्याण समिति तनहुँकी बालअधिकार अधिकृत सरीता कार्की लगायतको उपस्थिति रहेको थियो । यसअघि सोही ज्ञापनपत्र केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक धर्मराज श्रेष्ठलाई समेत बुझाइएको थियो ।

0 comments

Write Down Your Responses