सोमबारसम्म ३४०६ वर्गीकरणमा समावेश

इ तनहुँ संवाददाता
काठमाडौं, मंसिर ६
सेना समायोजन विशेष समिति सचिवालयका सर्वेक्षकले सोमबारसम्म ३ हजार ४ सय ६ जना लडाकुको पुनर्वर्गीकरण गरेका छन्। पुनर्वर्गीकरण सुरु भएको तेस्रो दिन चितवनको शक्तिखोर शिविरमा सबैभन्दा बढी ८ सय २१ को वर्गीकरण गरिएको छ।

सचिवालयका संयोजक बालानन्द शर्माका अनुसार इलामको चुलाचुलीस्थित पहिलो डिभिजनमा ४ सय १७, सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजनमा ५ सय ९०, चितवनको शत्तिखोरस्थित तेस्रो डिभिजनमा ८ सय २१, नवलपरासीको झ्यालटुङडाँडास्थित चौथौ डिभिजनमा ६ सय २२, रोल्पाको दहवनस्थित पाँचौं डिभिजनमा ३ सय ५, सुर्खेतको दशरथपुरस्थित छैटौं डिभिजनमा ३ सय ८७ र कैलालीको तालबन्दस्थित सातौं डिभिजनमा २ सय ७३ लडाकुको पुनर्वर्गीकरण सकिएको छ।
'तीन दिनको तथ्यांक हेर्दा समायोजन र स्वैच्छिक अवकास रोज्ने लडाकुको संख्या बराबरजस्तै छ,' शर्माले भने, 'पुनर्स्थापना प्याकेजतर्फ लडाकुले खासै रुचि देखाएका छैनन्।'
शर्माका अनुसार हालसम्म १०/१२ जना लडाकुले मात्र पुनर्स्थापना प्याकेज रोजेका छन्। आइतबारसम्म स्वैच्छिक अवकास रोज्ने ६० प्रतिशत भए पनि सोमबार यो संख्या झन्डै ५० प्रतिशतमा झरेको उनले बताए। महिला लडाकु पुनर्वर्गीकरण बढी परेको बेला स्वैच्छिक अवकास लिनेको संख्या बढ्ने र पुरुष लडाकु बढी पुनर्वर्गीकरण गरेको दिन समायोजनमा जानेको संख्या वृद्धि हुने तीन दिनको तथ्यांकले देखाएको शर्माले जानकारी दिए।
बच्चा भएका र श्रीमान् पनि शिविरमै रहेका महिलामध्ये धेरैले स्वैच्छिक अवकास रोजेका छन्।

0 comments

Write Down Your Responses