चिनिया र माओवादी नेताबीच बेइजिङमा भेटवार्ता
पूर्ण बस्नेत
हङकङ, पुष २
प्रधानमन्त्री बेन जियाबाओको नेपाल भ्रमणको
नयाँ मिति तोक्ने तयारी भइरहेका बेला चिनिया कम्युनिष्ट पार्टीका
पोलिटब्यूरो सदस्यले नेपालको स्थिरताका लागि तीन देशबीच समझदारी हुनुपर्ने
दोहोर्याएका छन्।
चीन भ्रमणमा आएको माओवादी टोलीसँगको भेटवार्तामा प्रधानमन्त्री
जियाबाओको नेपाल भ्रमणको कार्यक्रमबारे औपचारिकरुपमा कुनै चर्चा नभएको
सहभागीले जनाएका छन्।
चिनिया कम्युनिष्ट पार्टीको २५ सदस्यीय पोलिटब्यूरोका सदस्य तथा
चाइनिज पीपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)का उपाध्यक्ष
वङ काङ र स्थाई समिति सदस्य लिलामणि पोख्रेलले नेतृत्व गरेको माओवादी
टोलीबीच शुक्रबार साँझ बेइजिङमा भेटवार्ता भएको हो।
'नेपालमा हुने चीनविरोधी गतिविधि नियन्त्रण हुनुपर्छ, चीनले नेपालमा
आर्थिक सहायतातथा लगानी विस्तार गर्छ', भेटवार्तामा काङको भनाई उद्धृत
गर्दै पोख्रेलले थपे, 'नेपालको स्थिरता र विकासका लागि भारत, नेपाल र
चीनबीच त्रिपक्षीय समझदारी हुनुपर्छ।'
करिब एक घण्टाको भेटवार्तामा काङले चीन अहिले तिब्बतसहित पश्चिम
क्षेत्रको विकासमा केन्द्रित भएको र 'सन् २०२० सम्ममा चिनियालाई संसारकै
समृद्ध बनाउने' बताएका थिए। पोख्रेलले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको
पक्षमा लबिङ गर्न चीनलाई आग्रह गर्दै नेपालको जलविद्युत विकासमा लगानी
वृद्धि गर्न सुझाव दिएका थिए।
भेटवार्तामा माओवादी पोलिटब्यूरो सदस्यद्वय हरिबोल गजुरेल र हेमन्त
प्रकाश ओली लगायत टोलीका सदस्य सहभागी थिए। बिहीबार बेइजिङमा नेपाली
प्रतिनिधिमण्डलसँग छुट्टै भेटवार्ता गरेका चिनिया कम्युनिष्ट पार्टीको
विदेश विभागका उपमन्त्री तथा दक्षिण र दक्षिणपूर्वी एसिया प्रमुख आई पीङ
पनि संलग्न थिए।
चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा २१ मंसिरमा चीन अध्ययन
भ्रमणमा आएको माओवादीको १६ सदस्यीय टोली ग्वान्झाओ, सांघाई, सियान हुँदै
बेइजिङ पुगेको हो। पोख्रेलको नेतृत्वमा आएको टोलीमा पोलिटब्यूरो सदस्यहरू
हरिबोल गजुरेल र हेमन्त प्रकाश ओली, केन्द्रीय सदस्यहरू जोखबहादुर महरा,
ध्रुव पराजुली र सुरेश कुमार राई, टीबी पाठक, झलकपाणी तिवारी, रुपा चौधरी,
खुमा सुवेदी, कार्चेन लामा, मञ्जु बम, चेतना वैद्य, कमला थाङसुहाङ, सीला
यादव र रघु घिमिरे छन्। दस दिने भ्रमण पूरा गरी माओवादी टोली शनिबार
काठमाडौँ फर्किनेछ।
0 comments
Write Down Your Responses