उपाधि थप्दै शिवराम

इ तनहुँ संवाददाता
काठमाडौ, पुस २
नेपाली गल्फका सर्वाधिक सफल प्रो शिवराम श्रेष्ठले १५ औं उपाधिका रूपमा सीएमएस ओपन गल्फ शुक्रबार जितेका छन् । उनले सूर्य शर्मालाई चार स्ट्रोकले पछि पार्दै यो सिजनको चौथो प्रतियोगिता जिते ।
यसअघि उनले सूर्य नेपाल गल्फ टुर-२०११/१२ को वेस्टर्न ओपन, सेन्ट्रल ओपन र स्वणिर्मा ओपनमा पहिलो स्थान हात पारेका थिए । 'उपाधिको सूची लम्ब्याउन पाएकामा निकै खुसी लागेको छ,' उनले भने, 'स्कोर भने राम्रो
रहेन । राम्रो लयमा छु । तर कोर्स कठिन बनाइएकाले राम्रो स्कोर बनाउन गाह्रो भयो ।'
घरेलु प्रतियोगिताकै सर्वाधिक ५ लाख रुपैयाँको प्रतियोगितामा शिवरामले एक लाख १० हजार पाउनेछन् । सूर्यको भागमा ७२ हजार रुपैयाँ हुनेछ । उनीहरूले पुरस्कार आइतबार पाउनेछन् ।
आरएनजीसीका शिवरामले अन्तिम तथा तेस्रो दिन शुक्रबार २ ओभर ७४ स्कोर गरे । फ्रन्ट नाइन १ अन्डर ३५ मा टुंग्याए पनि ब्याक नाइनमा ३ स्ट्रोक बढी खेलेपछि सूर्यसँगको अन्तर छोटिएको थियो । उनले अघिल्ला दुई दिन उनको स्कोर अन्डरमा थियो । उनको कुल स्कोर १ अन्डर २ सय १५ रह्यो ।
उपविजेता सूर्यले ३ ओभर २ सय १९ को कार्ड बनाए । उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १८ होलमा १ अन्डर ७१ स्कोर गरे । उनीसँगै अनुभवी दीपक थापामगरको स्कोर दिनकै उत्कृष्ट रह्यो । दीपक कुल १३ ओभर २ सय २९ मा सञ्जय लामा र राम थापासँगै संयुक्त आठौंमा रहे । ५ ओभर २ सय २१ स्कोरसँगै तोरणविक्रम शाही तेस्रो भए । तीन स्ट्रोक अन्तरमा रवि खड्का र रमेश नगरकोटी संयुक्त चौथोमा रहे ।
छैटौंमा रहेका सीबी भण्डारीको स्कोर १० ओभर २ सय २६ रह्यो । सातौंका रमेश अधिकारीले २ स्ट्रोक बढी खेले । टासी छिरिङ ६ ओभर २ सय २२ मा एमेच्योर विजेता भए । विकास बोगटी २ स्ट्रोक पछि परे ।

0 comments

Write Down Your Responses