कहाँको खाँदै छौं माछा

इ तनहुँ संवाददाता
काठमाडौ, पुस २ 
राजधानीको बजारमा व्यवसायीले जनकपुरको ताजा माछा भन्दै भारतको आन्ध्र प्रदेशबाट सात दिनभन्दा बढी सडकयात्रा गरी भित्रिएका माछा बेचिरहेका छन् । कतिपय व्यवसायीले त 'ग्रासकार्प’ र 'बचुवा’ जातका माछालाई कणार्लीको 'महासेर’ र नारायणीको 'जलकपूर’ को नाममा उपभोक्ता ठग्ने गरेका छन् । तराईमा ससानो परिमाणमा उत्पादन हुने माछा स्थानीय बजारमै अपुग हुने भएकाले राजधानीवासीलाई ताजा माछा पाउन सजिलो छैन । वीरगन्जबाट भूषण यादव र काठमाडौंबाट सुजित महतको रिपोर्ट:
पुरानो बानेश्वरस्थित 'फस फिस' का पसले हालै ठूलो आकारको माछालाई कणलीको महासेर र ससाना माछालाई चाहिँ नारायणीको जलकपूर भनेर ग्राहक लोभ्याइरहेका थिए । रहू, भकुरा लगायत माछाको दाम १ सय ८० रुपैयाँ प्रतिकिलो भए पनि ति दुई थरीका माछाचाहिँ ३ सय रुपैयाँ किलोमा उपभोक्ता किन्दै थिए । तर निकुञ्जले माछा मार्न रोक लगाएकाले कणर्ाली वरपरका उपभोक्ताकै लागि महासेर दुर्लभ छ । नारायणी र कोसी नदी किनारमा पाइने जलकपुरको दाम स्थानीय बजारमै किलोको कम्तीमा ५ सय रुपैयाँ पर्छ ।
जिल्ला कृषि विकास कार्यालयका माछा प्राविधिक दयाराम हरिजनका अनुसार राजधानीमा महासेरको नाममा बिक्री हुने माछा ग्रासकार्प हो । बचुवा माछाको बच्चालाई व्यवसायीले जलकपूर भनेर उपभोक्ता ठगिरहेका छन् । हल्का हिलो गनाउने भएकाले तराईमा ग्रासकार्प अरू माछाजति रुचाइँदैन । बचुवा माछा रहु र भकुराभन्दा सस्तो पर्छ । वीरगन्जको मीना बजारमा शुक्रबार रहू किलोको १ सय ६० थियो भने बचुवा १ सय १० रुपैयाँ थियो ।
तर राजधानीका उपभोक्ता तिनलाई महासेर र जलकपूर ठानेर करिब दोब्बर मोल तिरिरहेका छन् ।
स्थानीय नदी/पोखरीका माछा भनेर बिक्री हुने अधिकांश उत्पादन भारतको आन्ध्र प्रदेशबाट भित्रिन्छन् । माछाका लागि नामचलेका नदी छेउका मलेखु, दोलालघाट लगायतका बजारमा पनि नदीका माछा भेट्न मुस्किल छ । 'छरी' जातका साना जातका माछाको माग बढेको छ,' वीरगन्जबाट मुलुकका प्रमुख बजारमा माछा आपूर्ति गर्ने व्यवसायी गोर्भु साह भन्छन्, 'मलेखु र दोलालघाटमा त्रिशूलीको भनेर झुक्याइने माछा यही हो ।' नदीनाला पर्याप्त भए पनि करेन्ट लगाएर, बम हानेर माछा मार्ने प्रवृत्तिका कारण नदीको माछा दुर्लभ हँुदै गएको कृषि मन्त्रालयका प्रवक्ता हरि दाहाल बताउँछन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार पर्सामा वाषिर्क १२ हजार टन माछाको खपत छ । तर उत्पादन ८ हजार टन मात्र छ ।
'स्थानीय पोखरीका माछा सामान्यतया एक किलोभन्दा बढीका हुँदैनन्,' प्राविधिक हरिजन भन्छन्, 'माछा ठूलो छ भने आन्ध्र प्रदेशको हो भनेर बुझे हुन्छ ।' पोखरीबाटै माछा चोरी हुने, अरूले विष मिसाइदिने डरले तराईका माछा पालकले बढीमा एक किलोको हुनासाथ बजारमा पुर्‍याउने गरेको उनले बताए । प्रवक्ता दाहालका अनुसारसम्म जमिन कम भएकाले नेपालमा माछा पालनको अधिक सम्भावना छैन । गत वर्ष २५ हजार टन उत्पादन भएको थियो । मन्त्रालयले उत्पादन बढाउन ५ वर्षदेखि 'माछा अभियान' सञ्चालन गरिरहेको छ । माछा अभियान सुरु भएपछि तराईमा माछा उत्पादन ३ गुणा वृद्धि भएको प्राविधिक हरिजनले जनाए ।
यसरी भित्रिन्छ
३ हजार किलोमिटर भन्दा बढी सडक यात्रा गरी ढुवानी गर्नुपर्ने भएकाले आन्ध्र प्रदेशको माछा कालिमाटीको थोक पसलमा आइपुग्न कम्तीमा दस दिन लाग्छ । ट्रकमा लोड गर्नुअघि फोमको कार्टुनमा माछालाई बरफले ढाकिन्छ । रातदिन यात्रा गर्दा आन्ध्र प्रदेशबाट छुटेको ट्रक सीमावर्ती रक्सौल आइपुग्न ५ दिन लाग्छ । रक्सौलस्थित भन्सारले निर्यात अनुमतिको कागजात नभएको भन्दै नेपाल भित्र्याउन आनाकानी गर्ने भएकाले लाइन मिलाउनमै थप २/३ दिन बित्छ । 'लाइन मिलाउन समय लाग्ने भएकाले बजारमा माछा पुर्‍याउन बढी समय लागेको छ,' बाइपासरोडस्थित सुरज फिस सप्लायर्सका सञ्चालक गोर्भु साह भन्छन्, 'नत्र मारेको सात दिनभित्र राजधानीको बजारमा माछा पुर्‍याउन सकिन्छ ।' माछा नकुहियोस् भनेर आन्ध्र प्रदेशका किसानले मार्नुभन्दा ५ दिन अगावै माछालाई दाना बन्द गर्छन् । 'पेट खाली भएको माछा बरफमा राखेर ढुवानी हुने भएकाले बिगि्रएको चाहिँ हँुदैन,' मीना बजारका माछा व्यवसायी ललन यादवले भने  ।
वीरगन्जबाट दैनिक ३० टनको हाराहारीमा माछा भित्रिन्छ । रहु, भकुरा र बचुवा माछाको माग बढी छ । 'पोखरीबाट निकालेको दुई सातामा उपभोक्तामा पुग्ने भएकाले माछाको आँखा भित्र गाडिइसकेको हुन्छ,' एक व्यवसायीले भने, 'तर माछाको टाउको मुनि भित्रपट्टी हुने रातो भाग देखाएर ताजा भन्दै बेचिन्छ ।' ती व्यवसायीका अनुसार माछाको ताजापन छुट्याउन आँखा हेर्नुपर्छ । 'ताजा माछाको आँखा चम्किलो हुन्छ,' तिनले भने । बासी माछाको स्वादिलोपन हट्ने हरिजन बताउँछन् । 'स्वादमा स्थानीय र आयातित माछाबीच ब्रोइलर तथा लोकल कुखरामा जस्तै फरक हुन्छ,' उनले थपे ।
माछालाई कुहिन नदिन 'फर्मालिन' रसायन प्रयोग हुने हल्ला केही अघि चलेको थियो । फर्मालिन लासलाई कुहिन नदिन प्रयोग हुने रसायन हो । तर व्यवसायी यस्तो रसायन प्रयोग नहुने जिकिर गर्छन् । नयाँबानेश्वरका माछा व्यवसायी नारायण प्रधान अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयातित माछामा कुनै रसायन प्रयोग नभएको पुष्टि गरेको बताउँछन् । उक्त हल्लाका कारण बजारमा माछाको व्यापार घटेपछि राजधानीका माछा व्यवसायीले विभागले सफाइ दिएको कागजलाई प्लास्टिक लेमिनेसन गरी पसलमा राखेका छन् । 'अहिले पनि ग्राहकले फर्मालिन हाल्छन् रे नि भनेर सोध्छन्,' प्रधानले भने, 'म यही प्रमाण देखाउँछु ।' फर्मालिन प्रयोगको हल्लाले माछाको बिक्री ३० प्रतिशत घटेको व्यवसायी बताउँछन् ।
वीरगन्ज भन्सारका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्म ७० टन माछा भित्रिएको छ । खुला सीमाका कारण लुकाइछिपाई माछा भित्रिने गरेको छ । स्वस्थयकर माछाका लागि स्थानीय माछा नै खानयोग्य रहेको प्रावधिक हरिजन बताउँछन् । उनले भने, 'ब्राइलर र लोकल कुखुराझैं यसमा पनि स्वादको फरक पर्छ ।'

0 comments

Write Down Your Responses