सहजिकरण समितिमा रहेका माओवादी बर्दिया जिल्ला सेक्रेटरी हिमालले किसान र चन्दको परिवारबीच छलफल गरेर जग्गा फिर्ता गरिएको बताउनु भयो । हिमालले भन्नुभयो-’हामीले किसान र चन्दका भाई विनयध्वज लगायतसँग छलफल गरेर समस्या समाधान गरेका छौं ।’ माओवादीले ५७ सालदेखि चन्द र उहाँको परिवारको करिव ४५ विघा जग्गा कब्जा गरेको थियो । जसमध्ये बाँकी कैलालीमा रहेको छ । माओवादीले चन्द र उहाँको परिवारले अधियाँमा दिएको जग्गा कब्जा गरि त्यहाँको कमाई आधा लिँदै आएको थियो ।
कांग्रेस नेता चन्दले गग्गा फिर्ता प्रक्रिया सुरु हुनु स्वागत योग्य भएको भन्दै अब स्थानीय प्रशासनले सुरक्षाको वातावरण मिलाउनु पर्ने बताउनु भयो । चन्दले भन्नुभयो-’भोलिका दिनमा समस्या आउँदैन भन्ने छैन । त्यसैले स्थानीय प्रशासनले सुरक्षाको वातावरण बनाउनु पर्छ ।’
सहजकरण समितिले जिल्ला प्रशासन कार्यालयमा परेका उजुरीहरुका आधारमा जग्गा फिर्ता गर्दै जाने बताएको छ । सहजिकरण समितिले उजुरीका आधारमा सतिश ज्ञवालीको जग्गा फिर्ता सम्वन्धमा गरेको अनुगमनमा भने झूटो उजुरी परेको पाइएको हिमालले जानकारी दिनुभयो । उहाँका अनुसार सहजिकरण समितिले अनुगमनका क्रममा ज्ञवालीले आफ्नो जग्गा ठेक्कामा लगाएर कब्जा गरिएकाले फिर्ता गर्न भन्दै उजुरी दिएको पाइएको छ ।
सहजिकरण समितिमा माओवादीबाट जिल्ला सेक्रेटरी हिमाल र कवीर, नेपाली काँग्रेसबाट जिल्ला सभापति सञ्जय गौतम र तेजबहादुर भाट, एमालेबाट देव राना र शालिकराम अधिकारी रहनु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले उपाध्यक्ष बामदेव गौतम र कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका शीर्ष नेताहरु बर्दिया पुगेर द्वन्द्वकालमा कब्जा गरिएको जग्गा फिर्ताका लागि जिल्ला स्तरमा सहजिकरण समिति बनाएको थियो ।
0 comments
Write Down Your Responses