पर्यटन वर्ष सकिनै लाग्दा प्रचारको तयारी

९ मंसिर काठमाडौं । काँधमा ठूलो झोला र पोकापन्तुरा बोकेका खैरा कपाल भएका मान्छे देख्ने बित्तिकै धेरैले भन्छन् -’नेपालमा पर्यटन वर्ष चलिरहेको छ नि, त्यसैले पर्यटक घुम्न आएका ।’ तर जान्नेबुझ्नेहरुका अनुसार पर्यटन वर्षको कारणले होइन, धेरै पर्यटक आफ्नै ज्ञान र साथीभाइको कुरा सुनेर नेपाल भ्रमणमा आएका हुन् । पोहोरपरार पनि यसैगरी पर्यटक आउँथे । नेपालका गाउँठाउँ घुम्थे र र्फकन्थे । नेपाल यस्तो छ र यहाँ यस्तायस्ता कुराहरु हेर्न पाइन्छ भनेर उनीहरुले आफ्नो ठाउँमा गएर सुनाउँथे । उनीहरुको कुरा सुनेर अर्काथरी पर्यटक नेपालप्रति आकषिर्त हुन्थे ।

अहिले पनि भएको यस्तै हो । किनकी नेपालमा पर्यटन वर्ष चलिरहेको छ भन्ने कुरालाई सरकारले अझै अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकेको छैन । विदेशमा रहेका नेपालीहरुको सकृयतामा मात्रै केही देशमा यस्ता प्रचारात्मक कार्यक्रम हुन सकेका छन् । पर्यटन वर्ष सकिन अब एक महिना र केही दिन मात्रै बाँकी छँदा सरकारले बल्ल अन्तर्राष्ट्रिय स्तरमा प्रचारात्मक कार्यक्रम थाल्दैछ ।

बीबीसी र सीएनएनसँग सम्झौता

जब पर्‍यो राती अनि बुढी ताती भनेझैं पर्यटन बर्ष सकिन लाग्दा आउँदो सोमबार या मंगलबारदेखि बेलायतको बीबीसी र अमेरिकाको सीएनएनबाट नेपालको पर्यटन क्षेत्र सम्बन्धी जानकारीमुलक सामग्री प्रसारण तथा प्रकाशन हुँदैछन् । नेपाल भ्रमण वर्ष सफल पार्ने खालका प्रचारात्मक सामग्री प्रसारण तथा प्रकाशनको लागि पर्यटन वोर्डले सम्झौता गरिसकेको छ । ‘अब यसलाई अन्तिम रुप दिन मात्रै बाँकी छ’ पयर्टन वर्ष २०११ का राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले भन्नुभयो । सम्झौताअनुसार चार महिनासम्म बिबिसी र सिएनएनका सञ्चार माध्यमहरु टेलिभिजन र अनलाईनमा नेपालको पर्यटकीय क्षेत्रको बारेमा सन्देशहरु प्रशारण र प्रकाशन हुनेछन् । यसको लागि बीबीसी र सीएननलाई चार करोड रुपैंया बुझाउनुपर्ने हुन्छ ।

‘ढिलै भएपनि शुरु हुन लागेको छ । यसले सन् २०१२ को लुम्बिनी भ्रमण वर्षलाई समेत सहयोग पुग्ने आशा गरिएको छ’ शाक्यले भन्नुभयो । सन् २०११ को सुरुवातमै अन्तर्राष्ट्रिय प्रचारप्रसार शुरु गर्ने प्रकृया अघि बढेको थियो । ‘तर अख्तियारले अनियमितता भएको भन्दै रोक्न निर्देशन दिएपछि काम अघि बढ्न सकेन’ शाक्यले भन्नुभयो । प्रचारप्रसारको लागि सरकारले १३ करोड रुपैया पनि भर्खरै दिएकोले प्रचारप्रसार शुरु गरिएको उहाँको भनाई छ । शाक्यका अनुसार भारतीय र चिनिया सञ्चार माध्यममा भने २०१२ मा मात्रै नेपाल सम्बन्धि प्रचार सामग्री आउनेछ ।

कति आए पर्यटक ?

निकै ठूलो तामझाम र हल्लीखल्ली सहित शुरु भएको नेपाल पर्यटन वर्षको अवधि अब सकिनै लागेको छ । अब एक महिना र केही दिन मात्र बाँकी छँदा पर्यटन वर्षको उपलव्धी सोचेजस्तो हुन सकेको छैन । ‘बितेको १० महिनाको तुलना गर्दा झण्डै ६ लाख पर्यटक नेपाल आएको देखिन्छ’ संयोजक शाक्यले भन्नुभयो । सन् २०११ सकिँदा यो संख्या ८ लाख पुग्ने अनुमान गरिएको छ । ‘योजना अनुसार काम भएको भए १० लाख पर्यटक भित्र्याउन सकिन्थ्यो’ शाक्यले भन्नुभयो -’नेपालको काम गर्ने प्रकृया नै ढिलो हुँदा योजना अनुसार हुन नसकेको हो ।’

व्यवसायी उत्साहित

सरकारको काम गर्ने पारा निराशलाग्दो देखिएपनि पर्यटन व्यवसायी भने उत्साहित छन् । सरकारी पक्षको उदासिनता र पूर्वाधारको कमीले पनि लक्ष्यभन्दा दुईलाख मात्र कम पर्यटक भित्रिन सक्नु आशालाग्दो संकेत भएको उनीहरुको भनाई छ । ‘पर्यटन वर्षका कारण सिजनमा सबै २८ हजार कोठा भरिएको छ’ नेपाल ट्राभल एजेन्सी एसोसियनका अध्यक्ष अर्जुन शर्माले भन्नुभयो -’अब हामीले अफ सिजनमा पनि पर्यटक तान्न सक्नुपर्छ ।’ भ्रमण वर्ष घोषणा गर्दा अमेरिका लगायत युरोपेली देशले सुरक्षा अवस्था राम्रो नभएको भन्दै नेपाललाई जोखिमपूर्ण देशको सुचीमा राखेका थिए । यो आशंका हटाउने गरी अन्तर्राष्ट्रिय स्तरमा समयमै प्रचारात्मक कार्यक्रम पनि हुन सकेन । पर्यटन वर्ष सफल बनाउनको लागि सरकार र सम्बन्धित निकायबीच तालमेल पनि हुन सकेन । यही बीचमा पर्यटन बोर्डका कार्यकारी निर्देशक पनि नियुक्त हुन सकेन । यसो हुँदाहुँदै पनि पर्यटकको संख्या बढेको भन्दै व्यवसायी र आयोजक केही मख्ख छन् ।

‘गएको वर्ष ६ लाख पर्यटक नेपाल आएका थिए, चालु वर्षको पहिलो १० महिनामा २२ प्रतिशतले बृद्धि भएको छ । यो सकारात्मक सन्देश हो’ पयर्टन वर्ष २०११ का राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले भन्नुभयो -’यही गतिले बढ्ने हो भने सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउन सकिन्छ ।’

0 comments

Write Down Your Responses