कांग्रेसले विपीलाई बिर्सियो : जोशी

इ तनहुँ संवाददाता
तनहुँ, १५ वैशाख
 

    नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेसको पहिचान, अडान, नीति सिद्धानत केही नभएको बताएका छन् । नेता जोशीले कांग्रेस नेतृत्वलाई इङ्गित गर्दै सो कुरा बताएका हुन् । पहिचान र अडान केही नहुँदा कांग्रेस र एमाले छुट्याउन नसकिने अवस्था सिर्जना भएको उनले बताए ।
    विपी विचार समाज तनहुँद्वारा शुक्रबार आयोजित संस्थागत विकास तालिमको उद्घाटन गर्दै जोशीले भने, ‘कांग्रेसले विपीलाई बिर्सियो ।’ समाजले विपीका आदर्श, प्रजातन्त्रका मूल्य मान्यता र कांग्रेसको पहिचान, नीति र सिद्धान्तको रक्षा गर्दै अगाडि बढ्नुपर्ने उनले बताए । विपीका आदर्श कांग्रेसले अनुसरण नगरेको भन्दै उनले रोष प्रकट गरे ।
नेतृतवले जिल्लामा कार्यकर्ताको संरक्षण गर्ने योजना केही नबनाउँदा कार्यकर्तामा नैराश्यता छाएको उनले बताए । ‘हिजोका दिनमा कसैले हेप्न नसक्ने कांग्रेसलाई अहिले कसैले टेर्दैन,’ जोशीले भने । पार्टीका संसदीय दलका नेता जिल्लाका समस्याका बारेमा एक शब्द पनि नबोलेको भन्दै नेता पौडेललाई इङ्गित गर्दै हैसियत नभएको नेताले आरोप लगाए । ‘भरोसायुक्त नेता, नीति आक्रामक र कार्यक्रम जुझारु भएर मात्र कांग्रेसलाई अगाडि बढाउन सकिन्छ,’ उनले भने ।
    विपी विचार समाज तनहुँकी अध्यक्ष सभासद् उर्मिला थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद गौतमले कांग्रेसभित्रका विकृति हटाउँदै अगाडि बढ्न समाजको स्थापना गरिएको बताए ।
    कार्यक्रममा नेपाली कांग्रेसका पूर्व उपसभापति मोतीकुमार श्रेष्ठ, जिविस तनहुँका पूर्व उपसभापति बलबहादुर आले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष प्रेमप्रसाद पौडेल, नेपाल सांस्कृतिक संघ तनहुँका अध्यक्ष किसान गुरुङले मन्तव्य राखेका थिए ।
    दुई दिनसम्म सञ्चालन हुने तालिममा नेपाल जेसीजका पूर्व अध्यक्ष महेश दाहाल र प्रजातन्त्रवादी प्राध्यापक संघका उपाध्यक्ष कृष्णप्रसाद गौतमले प्रशिक्षण दिनेछन् । कार्यक्रममा ४६ गाविस र व्यास नगरपालिकाका ११ वटै वडाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन परमेश्वर भट्टराईले र कोषाध्यक्ष बालकुमारी लोहनीले स्वागत गरेकी थिइन् ।

0 comments

Write Down Your Responses