महिला मानवअधिकार रक्षक सञ्जालको अन्तरक्रिया
इ तनहुँ संवाददाता
तनहुँ, माघ २५
महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँको नवनिर्वाचित पदाधिकारी र सरोकारवालासँग बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले सञ्जालले मानवअधिकारको सवालमा रचनात्मक काम गरी जिल्लालाई नमुना बनाउनुपर्ने बताए ।
नारीहरुको सम्मान घरपरिवार र राष्ट्रले गर्नुपर्नेमा जोड दिए । सञ्जालले नागरिक शिक्षा सचेतना अभियान सञ्चालन गरी बोक्सीप्रथा, बहुविवाह, मानव बेचविखन, कुटपिट, महिला हिंसा र विभेदका विरुद्ध सञ्जालले काम गर्नुपर्ने पौडेलले बताए । समाजमा शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी अगाडि बढेको अवस्थामा नागरिकका मानवअधिकारको रक्षा हुने प्रजिअ पौडेलले बताए ।
सोही कार्यक्रममा सञ्जालकी केन्द्रीय सदस्य एवं इन्सेक तनहुँ संयोजक शवनम शर्माले पीडित महिलाले मौनताको संस्कृति तोड्दै न्यायको लागि आवाज उठाउनुपर्ने बताइन् । उनले सञ्जाल महिलाको अधिकार र पहिचानका लागि आवश्यक रहेको दावी गरिन् ।
प्रहरी नायब उपरिक्षक गौतमराज कट्टेलले महिला हिंसा विरुद्धको सय दिने अभियान सञ्चालन गरिरहेकै बेला पश्चिम नेपालका महिला छाउपडी प्रथाका कारण ज्यान गुमाउनुपरेकोमा दुःख व्यक्त गर्दै महिलामाथि हुने उत्पीडन रोकथामका लागि सञ्जाल क्रियाशिल हुनुपर्ने बताए । व्यास नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र तिवारीले सञ्जाल नामका लागि गठन नभई कामका लागि हुनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष प्रेमप्रसाद पौडेलले अपराध नियन्त्रण गर्न समुदायमा नागरिक शिक्षा एवं सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । स्थानीय शान्ति समिति, पत्रकार, सरकारी कार्यालयसँग समन्वय गरी मानवअधिकार रक्षाका लागि लागिपर्नुपर्ने बताए ।
कार्यक्रममा सञ्जालकी केन्द्रीय सचिवालय सदस्य विष्णु न्यौपानेले महिला मानवअधिकार सञ्जालको गठनको औचित्य र अभियानका बारेमा जानकारी गराएकी थिइन् । सञ्जाल तनहुँकी अध्यक्ष कला पुनको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नेपाल वार एसोसिएसन तनहुँका अध्यक्ष देवेन्द्र हमाल, संयुक्त दलित उत्थान मञ्च तनहुँका अध्यक्ष रामलिला सुवर्णकार, सञ्जालकी सचिव सोनी खनिया, कृष्णा केसी लगायतले महिला अधिकारका बारेमा बोलेका थिए ।
यसैबीच महिला मानवअधिकार सञ्जाल तनहुँले पत्रकार सम्मेलन पनि सम्पन्न गरेको छ । पत्रकारका जिज्ञासामा सवनम शर्मा र विष्णु न्यौपानेले प्रष्ट पारेका थिए
0 comments
Write Down Your Responses