फोहोर फाल्ने ठाउँमा मन्दिर बनाएपछि टोलै सफा


निर्मल घिमिरे
काठमाडौँ, पुस १
फोहोर फाल्ने ठाउँमा मन्दिर बनाएपछि लाजिम्पाट, धोबिचौरको अनुहारमात्र फेरिएन। नाम पनि फेरियो- कैलाश चौर। 'प्रयोगमा नभएको निजी जग्गामा फोहोर फालिँदै आएकाले टोलै दुर्गन्धित थियो,' स्थानीय मुकुन्द न्यौपानेले भने, 'मन्दिर निर्माणपछि फोहोर फाल्नुको साटो भएको फोहोरसमेत टिप्ने गरेकाले टोलै सफा र स्वच्छ छ
टोलमा रजक समुदायको बाहुल्य छ। मन्दिर निर्माणमा पनि उनीहरुकै लगानी बढी भएको न्यौपानेले बताए। 'ज्यादै फोहार भएपछि टोलबासीको सरसल्लाहमा २०६० सालमा मन्दिर निर्माण सुरु भएको हो,' उनले भने, 'ब्युटी राणाको नाममा रहेको एक आना जग्गामा बनेको मन्दिरमा गणेश, भीमसेन, भगवती, सरस्वती, हनुमान, बुढानीलकन्ठलगायतको सात मूर्ति राखिएको छ।'
प्रायले प्रियजनको सम्झनामा मूर्ति राखेको स्थानीय सुमन रजकले बताए। मूर्ति २५ हजारदेखि ८० हजार रुपैयाँसम्मका छन्।
'पहिले फोहोर नियन्त्रण गर्नका लागि बगैँचा निर्माण गर्‍यौँ,' उनले भने, 'चुरोट खाने केटाहरु आएर अबेर रातसम्म होहल्ला गर्न थालेपछि मन्दिर निर्माण योजना अघि बढाएका हौं।'

मन्दिर निर्माणपछि होहल्ला गर्ने जमात आउनै छाडेको अनुभव उनलेसुनाए। 'कुनै पनि स्थानीयलाई मन्दिरमा मूर्तिको स्थापना गर्न रोकटोक छैन,' उनले भने।
मन्दिर सञ्चालन खर्च स्थानीयले नै बेहोर्दै आएका छन्। 'मिलेरै रंग लगाउँछौं, मिलेरै टुटफुट भएमा बनाउँछौ,' उनले भने, 'मन्दिरलाई अझै आकर्षक बनाउने टोलबासीको योजना छ।'

0 comments

Write Down Your Responses