अमेरिका छाडेर गाउँमा निशुल्क विद्यालय
अमेरिकाको बसाई छाडेर गाउँमा फर्किएका २३ वर्षे मन्जिल रानाले गाउँमा विद्यालय खोलेर ४५ विद्यार्थीलाई निशुल्क पढाउनुका साथै शैक्षिक समाग्री समेत उपलब्ध गराउँदै आएका छन् ।
![]() |
बाँस र स्याउलाले बारेर बनाएको कक्षा कोठा अगाडी दौरा-सुरवाल चोलो र स्कर्ट लगाएका माया यूनिभस्र एकेडेमीका विद्यार्थी । साथमा विदेशी स्वंयसेवक र विद्यालयका संचालक मन्जिल राना (अन्तिम लाइनमा) । |
समुन्द्र पौडेल
तनहुँ पुस ५
काठमाण्डौ सेन्ट जेभियसबाट एसएलसी उत्तिर्ण भए लगतै तनहुँसुरका २३ वर्षीय मन्जिल रानाले भारतको यूनाइटेड बोल्ड कलेजबाट २ वर्षे इन्टरनेशनल स्नातक पुरा गरे । अमेरिकाको कलेज अफ द एटलान्टिकमा मानव सम्बन्धी अध्ययन गर्दै गरेका उनले आफ्नो ४ वर्षे अध्ययनलाई बिचैमा छाडेर गत वर्ष गाउँ फर्किए । गाउँमा रहेको पुर्खौली सम्पति मध्येको करिब १५ रोपनी जग्गामा एउटा टेण्ट टाँगेर उनले स्कूल शुरु गरे । रानाले गाउँ नजिकै खोलेको माया यूनिभस्र एकेडेमी अहिले देशकै नमुना स्कूल भएको छ ।
यसै शैक्षिक सत्रदेखी व्यास-४ उदिनदुङ्गामा एक कक्षाबाट शुरु भएको माया यूनिभस्र एकेडेमीको विद्यालय पोशाकमात्र होइन पठनपाठनको शैली र व्यवस्थापन नै अन्य विद्यालयको भन्दा भिन्न छ । छात्र विद्यार्थीले दौरा सुरवाल र ढाका टोपी तथा छात्राले चोलो र स्कर्ट लगाएर विद्यालय आउँछन् भने विद्यालयमा अंग्रेजी मात्र बोल्छन् ।
विद्यालयमा पढ्ने विद्यार्थीले मासिक शुल्क तिर्नु पर्दैन् बरु अभिभावकले विद्यालयलाई जनश्रमदान गर्नुपर्ने विद्यालयको नियम छ । 'अभिभावकले महिनाको दुई दिन निशुल्क जनश्रमदान गर्नुपर्छ ।' मन्जिलले भने, 'त्यस वापत हामीले विद्यार्थीलाई निशुल्क पढाउनुका साथै सबै शैक्षिक समाग्री निशुल्क उपलब्ध गराउँछौ ।' गाउँ घुमाउन ल्याएका विदेशी साथीबाट गाउँमा नै बसेर शिक्षा क्षेत्रमा योगदान गर्न आग्रह गरेपछि उनीहरुकै प्रेरणाबाट मन्जिल गाउँ फर्किएका हुन् ।
आफ्ना छोरा छोरीको फिसको सट्टा अभिभावकले विद्यालयले संचालन गरेको गाईपालन बंगुरपालन कुखुरा पालनसंगै तरकारी खेती र विद्यालयको भौतिक सुधारमा जनश्रमदान गर्नुपर्ने विद्यालयको व्यवस्थापनको जिम्मेबारी सम्हालेका सुबास रानाले बताए । 'एक दिनमा २ वा ३ जना अभिभावकले विद्यालयको काम गर्नुहुन्छ ।' उनले भने, 'अभिभावककै समय मिलाएर काम गर्ने दिन तय गर्छौ ।' अभिभावक काममा नआए अर्काे महिना जरिवाना स्वरुप अभिभावकले एक/एक दिन थप काम गर्नुपर्ने उनले बताए ।
एउटा कक्षा कोठामा १२ विद्यार्थीलाई मात्र पढाउने सोच राखेपनि अन्य सरकारी विद्यालयका विद्यार्थीहरु समेत विद्यालयमा आउन थालेपछि अहिले ३ वटा बाँस र स्याउलाले बारेको छाप्रोमा उनले ४५ विद्यार्थीलाई अध्यापन गराईरहेका छन् । निशुल्क विद्यार्थी पढाउने सोचले विद्यालय दर्ता गर्न खोज्दा स्वीकृती नपाएपछि मासिक एक रुपैया लिने भन्दै मन्जिलले जिल्ला शिक्षा कार्यालय तनहुँमा विद्यालय दर्ता गराएका छन् । एकेडेमीका संचालक मन्जिललाई गत बुधबार शिक्षा मन्त्रालयमा कलर नेपाल नामक संस्थाले सम्मान समेत गरेको थियो ।
गाउँमा नयाँ ढंगबाट विद्यालय संचालन भएपछि तनहुँसुरका स्नातक उत्तिर्ण रुकमिला खनाल तिलु दुरा र निकी अछामीले विगत ८ महिनादेखी निशुल्क नेपाली गणित र अंग्रेजी विषय अध्यापन गराइरहेका छन् । उनको विद्यालयमा हाल ४ विदेशी शिक्षक समेत छन् । 'विदेशी स्वयंसेवक शिक्षक र विदेशीसंग सहयोग मागेर विद्यालय संचालन गरेको हुँ।' मन्जिलले भने, 'विद्यालय संचालनका लागि अर्गानिक तरकारी खेतीसंगै पशुपालनलाई समेत व्यवसायिक बनाउने सोच छ ।'
मन्जिलले स्वयसेवकको रुपमा पढाउन आएका विदेशीबाट २/३ सय डलर शुल्क लिएर विद्यालयको व्यवस्थापन गर्दै आएका छन् । स्वयंसेवकका रुपमा आएका विदेशी शिक्षकले अनिवार्य बाहेकका अन्य विषय एक महिनादेखी ६ महिनासम्म पढाउँछन् । 'स्वयंसेवकले बेबपेज मार्फत आफ्नो बायोडाटा पठाउँछन् ।' मन्जिलले भने 'विद्यालयलाई आवश्यकता अनुसार उनीहरुको योग्यता हेरेर छनोट गर्छु ।'
'भारत र अमेरिकामा निशुल्क पढ्न पाएकाले परिवारले अध्यापनका लागि दिएको पैसा सम्हालेर राखेको थिए ।' उनले भने, 'त्यही पैसामा विदेशीसंग सहयोग मागेर यस्तो विद्यालयको अवधारणा ल्याएको हँु ।' नर्वे र अमेरिकाका विद्यालयको भ्रमण गरिसकेका उनले विश्वमै यस किसिमको विद्यालय ब्राजिलमा एउटा मात्र रहेको दाबी गरे ।
1 comments
Write Down Your Responses
November 15, 2014 at 8:34 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन