सेमिफाइनलमा घरेलु चुनौती

इ तनहुँ संवाददाता
पोखरा, कार्तिक ३०
विदेशी क्लबमाथि जित्ने अभियानलाई घरेलु टिम पोखरा-११ ले सफल पोखरा कपमा मंगलबार पनि कायम राखेको छ । उसले भारतको सिक्किम युनाइटेडमाथि ३-१ को सहज जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गर्‍यो । विजयी टिमका उत्तम गुरुङले दुई गोल गरे ।

पोखराको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । उसले फाइनल प्रवेशका लागि अर्को विदेशी क्लब सेख जमाल धानमुन्डीको सामना गर्नेछ । घरेलु पोखराले गरेको गोल प्रतियोगिताको कुनै पनि खेलमा भएको सर्वाधिक गोल र जित अन्तर हो ।
अठ्चालीस घन्टाबीच दोस्रो हार बेहोरेको सिक्किम युनाइटेडका लागि पोखराकप अनुभव बटुल्ने अवसर मात्र बन्यो । दर्शकको अपेक्षामा खरो उत्रन नसकेको उसले आइतबार दार्जिलिङमा भएको बि्रगेड अफ गोर्खाज गोल्डकपको फाइनलमा हार बेहोरेको थियो । तेस्रो मिनेटमा सन्तोष श्रेष्ठले गोल गर्दै पोखरा रंगशालाका करिब ७ हजार दर्शकलाई खुसी तुल्याए ।
सन्तोषको खेल प्रतियोगितामा भएको सबै भन्दा छिटो पनि हो । सिक्किमका करण अटवालले पेनाल्टी एरियाभित्र दिएको ब्याक-पासलाई  गोलकिपर वसन्त सिंहले राम्रोसँग समात्न सकेनन् । उनको असावधानीका कारण फुत्किएको बललाई सन्तोषले सजिलै पोस्टको दिशा दिएका थिए ।
सुरुवाती अग्रता लिएको घरेलु टिमका लागि विवेक गुरुङले २९ औं मिनेटमा गरेको प्रहार पाहुना टिमका किपरले बाहिर पठाए । बराबरीको खोजीमा रहेको सिक्किमका थुप्तेनले ३५ औं मिनेटमा गरेको कडा प्रहार पोखराका गोलकिपर समित राजभण्डारीले रोके । खेलको ४४ औं मिनेटमा पाहुना टिमले पेनाल्टीमार्फत बराबरी गर्‍यो ।
कप्तान किरण गुरुङले हीरालाल क्षेत्रीलाई पेनाल्टी एरियाभित्र लडाएपछि सिक्किमले पेनाल्टीको अवसर पाएको थियो । त्यसलाई मुमताज अख्तरले सजिलै गोलमा परिणत गरे । मुमताज 'म्यान अफ द म्याच' बने । किरणले पहेंलो कार्ड पाए । प्रतियोगितामा दोस्रो पहेंलो कार्ड पाएका उनले रोशन हिराचनसँगै सेमिफाइनल गुमाउने छन् ।
रोशनको पनि दोस्रो पहेलो कार्ड
हो । पहिलो हाफमा दुवै टिम एक/एकको बराबरीमा रहेपनि दोस्रो हाफको सुरुदेखि नै आयोजक घरेलु टिमले दबाब सिर्जना गर्‍यो । दोस्रो हाफपछि परेको पानीले भिजेको मैदानमा उसकालागि ७२ औं मिनेटमा उत्तम गुरुङले गोल गर्दै टिमलाई फरि अग्रता दिलाए ।
सब्टिच्युटको रूपमा मैदान छिरेको ६ मिनेटमा रेवान गुरुङको उत्कृष्ट क्रसमा उनले गोल गरे । उत्तमले नै ८१ औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहारले जालि चुमेपछि घरेलु टिमको जित निश्चित बनेको थियो । 'हामीले पहिलो खेलमा पनि दोस्रो हाफमा राम्रो गरेका थियौं,' पोखराका प्रशिक्षक कृष्ण थापाले भने ।
'सिक्किमले बराबरी गरेपछि डर लागेको थियो, तर खेलाडीको प्रदर्शन दोस्रो हाफमा प्रशंशा योग्य रह्यो', उनले थपे । आफ्नो टिमको डिफेन्स कमजोर रहेको बताउँदै उनले सेमिफाइनलमा टिमलाई गार्‍हो हुने अनुमान गरे । उनले विपक्षी टिमका युवा खेलाडीले राम्रो प्रदर्शन गरेको बताउन चुकेनन् ।
पाहुना टिमका प्रशिक्षक स्टेन्ली रोजारियोले टिम लामो यात्राबाट आएकोले थकाइको असर परेको
बताए । केहि खेलाडी सोमबार पोखरा आएपनि प्रशिक्षक सहित केही खेलाडी स्थलमार्गबाट मंगलबार मध्यान्न मात्र आईपुगेका थिए । ब्यवस्थापक अर्जुन राई मौसमका कारण हवाईयात्रा अवरुद्ध भएपछि खेल सकिएपछि मात्र पोखरा पुगे ।
'दुई विदेशी खेलाडी भिसा समस्याले आउन पाएनन, केही खेलाडी मलेसियाविरुद्धको खेलमा रहेका कारण टिम कमजोर बन्यो', रोजारियोले भने, 'मैदानको अवस्था बुझ्न नपाएकाले पनि खेलमा असर पार्‍यो ।'

पोखरा-११ ३-१ युनाइटेड सिक्किम

0 comments

Write Down Your Responses