गुफाभित्र बत्ती बालेर र्‍यापलिङ तालिम

इ तनहुँ संवाददाता
तनहुँ, ९ वैशाख
 
गुफा र खोचमा खसेर जोखिममा परेका मानिसको उद्धारका लागि सशस्त्र प्रहरीले र्‍यापलिङको अभ्यास गरिएको छ। नेपालमै एकमात्र विपत व्यवस्थापन तालिम केन्द्र स्थापना भए पश्चात सशस्त्र प्रहरीले र्‍यापलिङको व्यवसायिक प्रशिक्षणमा जुटेको हो।
विपत व्यवस्थापन तालिम केन्द्र, कुरिनटारले बिहीबार तनहुँको विमलनगरस्थित सिद्ध गुफाभित्र बत्ती बालेर मध्यपश्चिम महेश्वरी सशस्त्र प्रहरी बाहिनी, सुर्खेतका सशस्त्र प्रहरीलाई र्‍यापलिङको अभ्यास गराएको हो। डोरीको सहायताले माथिबाट तल झर्ने खेललाई र्‍यापलिङ भनिन्छ।
तालिम केन्द्रमा प्रशिक्षणमा रहेका ५० प्रहरीलाई र्‍यापलिङको प्रशिक्षण दिइएको मनकामना सशस्त्र प्रहरी गण भाँनुका प्रहरी उपरिक्षक हरिशंकर बुढाथोकीले बताए। र्‍यापलिङका लागि आवश्यक सबै सामग्री लिएर आएका उनीहरुले बिहीबार दिनभर र्‍यापलिङको प्रशिक्षण गरेका थिए।
गुफा र खोचमा मानिस खस्दा उद्धारका लागि प्रहरीलाई गुफाभित्रै ल्याएर प्रशिक्षण दिइएको सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक एवं दुर्गा बहादुर कुँवरले बताए। 'गुफाभित्र प्रशिक्षण गराइएको यो पहिलो पटक हो,' उनले भने, 'यसले तालिमलाई व्यवसायिक बनाउन टेवा पुर्‍याएको छ।'
सुरक्षा फौजसँग सम्बिन्धत दक्षिण एसियाकै एकमात्रै विपत व्यवस्थापन तालिम केन्द्र, कुरिनटारले सौद्धान्तिक भन्दा व्यवहारिक ज्ञान दिने योजनाअनुसार गुफाभित्र प्रशिक्षण दिइएको उनले बताए। पाँच वर्ष भित्र २५ प्रतिशत सशस्त्र प्रहरीलाई विपत व्यवस्थापनको तालिम प्रदान गरिने र ७५ प्रतिशतलाई आधारभुत जानकारी दिने लक्ष्य राखेको तालिम केन्द्रले जनाएको छ। र्‍यापलिङमा अहिले स्वदेशीसंगै विदेशी पर्यटकको समेत आकर्षण बढेको सिद्ध गुफा व्यवस्थापन समितिका अध्यक्ष लालकाजी श्रेष्ठले बताए।

0 comments

Write Down Your Responses