निशुल्क भन्दै म्याद सकिन लागेका औषधी वितरण




सरकारद्धारा निशुल्क वितरणका लागि उपलब्ध गराइएका नेमोक्स मेट १० बिकोष्टल सिप्रो जेडएन-डिटी लगायतका औषधीहरु एक महिना समेत म्याद नरहेका औषधीहरु तनहुँका स्वास्थ्य संस्थामा धमाधम वितरण भईरहेको छ ।

समुन्द्र पौडेल
तनहुँ चैत्र १०
जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा म्याद गुजि्रन लागेका औषधीहरु वितरण भईरहेका छन् । नेपाल सरकारद्धारा निशुल्क वितरणका लागि उपलब्ध गराइएका विभिन्न औषधीहरुमा एक महिनाको समेत म्याद नभएका औषधीहरु तनहुँका स्वास्थ्य संस्थामा वितरण गरिएको भेटिएको हो । 
सरकारले निशुल्क उपलब्ध गराउँदै आएको नेमोक्स मेट १० बिकोष्टल सिप्रो जेडएन-डिटी लगायतका औषधीहरु एक महिनाको अवधी बाँकी नछदाँ समेत धमाधम वितरण भईरहेको पाइएको छ । 'म्याद गुजि्रनै लाग्दा औषधी आएपछि त्यही वितरण गरेका छौ, ' प्राथमिक स्वास्थ्य केन्द्र भिमादका स्टोर किपर रमेश गैह्रेले भने, 'म्याद रहेसम्म वितरण गर्छौ म्याद सकिएपछि जलाउछौ ।'
स्वास्थ्य केन्द्रको स्टोरमा चैत्र २०६८ म्याद कायम भएको नेमोक्स औषधीको चाङ नै छ । 'चैत्रमा म्याद सकिने भएकाले सकेसम्म यसैलाई खपत गरिरहेका छौ' गैह्रेले भने, 'म्याद सकिएपछि यसलाई थन्काएर म्याद भएका औषधी दिन्छौ ।' उत्पादनको एक वर्ष प्रयोग अवधी रहेपनि स्वास्थ्य केन्द्रलाई शनिवार मात्र प्राप्त भएको नेमोक्स औषधीको म्याद समेत बैशाखमा सकिदै छ । 
नेशनल हेल्थ कियर प्रा।लि विरगाजद्धारा उत्पादित नेमोक्स एन्टिबायोटिक औषधी हो । प्राथमिक स्वास्थ्य केन्द्रले नेमोक्स बाहेक बिकोस्टल मेट १० लगायतका औषधीहरु समेत म्यादको अन्तिम अवस्थामा वितरण गर्दै आएको छ । 'औषधी झिक्दा र हरेक ३÷३ महिनामा औषधीको म्याद हेर्ने गर्छौ ।' गैह्रेले भने, 'तर यि औषधीहरु अन्तिम चरणमा मात्र आएका हुन् ।' म्याद सकिएका औषधीलाई त्रैमासिक प्रतिवेदनमा उल्लेख गरेर जिल्ला स्वास्थ्य कार्यालयलाई पठाएपछि त्यस्ता औषधीलाई जलाउने गरेको उनले बताए । 
दमौली अस्पतालले समेत विरामीलाई बैशाखमा म्याद सकिनै लागेका नेमोक्स जेड एन-डिटी सिप्रो बिकोस्ष्टल लगायतका औषधी वितरण गर्दै आएको छ । नेशनलबाटै उत्पादित जेड एन-डिटी झाडापखालाको लागि प्रयोग हुने जिङ चक्की हो भने आर्या फर्मा ल्याव प्रा।लि बारा द्धारा उत्पादित सिप्रो एन्टिबायोटिक र स्टालियन ल्यावेटोरी प्रा।लि गुजरात भारतद्धारा उत्पादित बिकोस्टल भिटामिन बि कम्प्लेक्स हो । स्वास्थ्य संस्थामा धमाधम वितरण भईरहेका सिप्रो र बिकोस्टलको अन्तिम म्याद मार्चसम्म मात्रै कायम छ । नेमोक्स सिप्रो बिकोष्टल जस्ता औषधी स्वास्थ्य संस्थामा सबै भन्दा बढि खपत हुने औषधीहरु मध्ये पर्छन् ।
कार्यालयलाई अन्तिम समयमा औषधीहरु प्राप्त भएपछि विरामीलाई सोही औषधीहरु वितरण गर्ने गरेको थर्पु स्वास्थ्य चौकीका इन्चार्ज ऐश्वर्य भट्टराईले बताए । 'हाम्रोमा पनि तिनै औषधीहरु आउने हुन्' उनले भने 'तिनै औषधीलाई वितरण गर्ने गरेका छौ ।' म्याद सकिनै लागेको नेमोक्स धेरै परिमाणमा आएपछि स्वास्थ्य चौकीले केही औषधी मात्र राखेर औषधी फिर्ता पठएको उनले बताए । 
एक महिना समेत म्याद नभएका औषधीहरु वितरण गर्नु सर्वसाधारणको स्वास्थ्यमाथी गम्भिर लापरर्वाही भएको उपभोक्ता हित संरक्षण माच तनहुँका अध्यक्ष खेमराज अधिकारीले बताए । 'एक जना विरामीलाई एक महिना भन्दा बढि औषधी खानु पर्ने अवस्था समेत आउन सक्छ'  उनले भने 'महिना दिन अवधी नभएको औषधी प्रयोग गर्दा गर्दै म्याद सकिन्छ ।'

0 comments

Write Down Your Responses