घुस खान नपाएर आरोप लगाइन : मन्त्री गौतम

कृष्ण न्यौपाने
(साभुङ भगवतीपुर) तनहुँ, चैत्र ६

भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतमले कर्मचारी सरुवामा घुस खान नपाएका कारण राज्यमन्त्री ज्वालाकुमारी शाहले आफूलाई घुस खाएको आरोप लगाएको बताएका छन् । सोमबार गृह जिल्ला तनहुँको साभुङ भगवतीपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले कर्मचारी सरुवामा आफूले हस्तक्षेप समेत नगरेको बताए ।
'कर्मचारी सरुवामा सचिव र महानिर्देशकको अधिकार हुन्छ,' उनले भने, 'मैले राज्यमन्त्रीलाई कर्मचारी सरुवा सचिव र महानिर्देशकको अधिकार भएकोले हामीले त्यसमा हस्तक्षेप गर्न हुँदैन समेत भनेको थिएँ ।' कर्मचारी सरुवामा राज्यमन्त्रीले हस्तक्षेप गर्न खोज्दा आफूले रोक्देका कारण राज्यमन्त्रीले आफूमाथि रिस पोखेको उनले बताए । उनले भने, 'कर्मचारी सरुवा गर्न बरु राज्यमन्त्रीले घुस खाएकी रहेछन् ।'
कर्मचारी सरुवा गर्दा घुस खाने प्रवृत्तिलाई रोक्नुपर्छ भन्दा राज्यमन्त्री शाहले उल्टै आफूलाई प्रतिशोध साधेको मन्त्री गौतमको भनाई थियो । भूमिसुधार राज्यमन्त्री ज्वालाकुमारी शाहले मन्त्री गौतमले एकलौटी रुपमा घुस खाएर कर्मचारी सरुवा गरेको आरोप लगाएकी थिइन् । कर्मचारी सरुवामा राज्यमन्त्रीले सिफारिस गरेका अधिकांश कर्मचारी परेको समेत मन्त्री गौतमले बताए ।
'राज्यमन्त्रीले सिफारिस गरेका २५ मध्ये १७ कर्मचारी सरुवामा परेका छन्' मन्त्री गौतमले भने , 'बाँकी ८ कर्मचारीको राज्यमन्त्रीले बढी घुस खाएको भएर कर्मचारी सरुवा नगरिएको हो । त्यसैको आक्रोश उनले म माथि पोखिन् ।' आफूले मन्त्रालय सम्हाल्नु अघि भूमिसुधार मन्त्रालय भ्रष्टहरुको अखडा रहेको भन्दै मन्त्री गौतमले आफूले मन्त्रालयलाई सुधार तर्फ लगेको दाबी गरे ।
नेपालमा चर्को भूमिसमस्या रहेको भन्दै उनले नेपालमा रहेका जमिनको उचित सदुपयोग हुन सकेन भावी पुस्ताले धेरै दुःख पाउने बताए । भू-उपयोग नीति नहुँदा देशभरका खेतीयोग्य जमिन प्लटिङमा परिणत हुँदै गएको भन्दै मन्त्री गौतमले त्यस्ता खेतीयोग्य जमिनमा प्लटिङ गर्न नपाउने गरी नीति तयार पार्न लागिएको जानकारी दिए । 'यो नीति मन्त्रीपरिषद्बाट पास भइसकेको छ, ' उनले भने,  'कार्यान्वयनमा आएपछि तोकेको मापदण्ड भन्दा बाहिर भूमिको प्रयोग गरे कारवाही हुन्छ ।' उनले अब सदनबाट यो नीति सम्बन्धी कानुन बनेपछि कार्यान्वयनमा आउने बताए ।
उनले देशभरका मालपोत कार्यालयमा कम्प्युटर प्रणालीबाट काम थालिने समेत बताए । 'काठमाडौंका पाँचवटै मालपोत कार्यालयमा यो प्रणाली लागु भइसकेको छ,' उनले भने, 'छिट्टै देशभरका मालपोत कार्यालयमा कम्प्युटर प्रणालीबाट काम थालिनेछ । जसले सर्वसाधारणले छिट्टै काम पाउनेछन् ।'

0 comments

Write Down Your Responses