गजौंडेमा स्वास्थ्य चौकी

इ तनहुँ संवाददाता
तनहुँ, फागुन १३
तनहुँको उत्तरपूर्वी सतिस्वाँरा–९ गजौंडेमा स्वास्थ्य चौकी स्थापना भएको छ । २०५१ सालदेखी स्वयंसेवक स्वास्थ्य चौकीको रुपमा रहेको उक्त स्वास्थ्य चौकीलाई हालै मात्र स्वास्थ्य चौकीको रुपमा मान्यता दिएको हो ।स्वास्थ्य चौकीको शनिबार जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुशीलनाथ प्याकुरेलले उद्घाटन गरे ।
स्वास्थ्य चौकीको उद्घाटन गर्दै प्याकुरेलले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएको हुँदा सरकारले त्यसै अनुरुप स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए । गजौंडेमा स्थापना भएको स्वास्थ्य चौकीले त्यस क्षेत्रका जनतालाई सेवा पुग्ने उनले आशा व्यक्त गरे ।
स्वाथ्य चौकीका लागि सिमाकुमारी गोदारले जग्गा उपलब्ध गराएको र चौकीमा हेल्थ असिष्टेन्टको नेतृत्वमा २ सिएमए र २ अनमीको दरबन्दी रहने स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकी स्थापनाको लागि स्थानीय सिमलचौर आमा समूह  तनहुँसुर, रिठ्ठाबोटे आमा समूह र गजौंडे आमा समूहले आर्थिक लगायत अन्य पूर्वाधार सहयोग गरेको स्थानीय शिक्षक बाबुराम खनालले जानकारी दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व जिविस सभापति रामचन्द्र पोख्रेल, जिविसका पूर्व सदस्य सुर्यनाथ खनाल, सतिस्वारा गाविसका पूर्व अध्यक्ष हाजी रफिक मियाँ, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य शिवशंकर पौडेल, नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य रघुबहादुर केसी, सतिस्वारा गाविसका सचिव श्रीकान्त न्यौपाने, माहेन्द्री उच्च माविका प्राचार्य अमृतबहादुर थापा, स्थानीय शिक्षक बाबुराम खनाल, समाजसेवीहरु डम्बरबहादुर अधिकारी, रामप्यारी आले, सुर्यबहादुर थापा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिवचन्द्र आचार्यले र स्वागत रुपबहादुर अधिकारीले गरेका थिए ।


0 comments

Write Down Your Responses