दुईपाने ‘भानु जन्मघर’ निर्माणको तयारी

हिरालाल विश्वकर्मा 
काठमाडौं, २४ माघ

               आचार्य वंशहरूका मात्र यी भानु होइनन् ।
               रम्घाली जो छन् यिनका मात्र पनि यी होइनन् ।
               नेपाली भाषी, नेपाली जाति धर्तीमा जहाँ छन् ।
               श्रद्धेय कवि सम्राट भानु सबैका साझा हुन् ।     


    यही कवितालाई आत्मसात् गर्दै आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घास्थित धर्मशालामा उनकै समयको वास्तुशैली प्रयोग गरी ‘शिखर कटेरी’ नाम दिएर दुईपाने ‘भानु जन्मघर’ निर्माण हुने भएको छ ।
    भानुभक्त आचार्यसँग सम्बन्धित प्राचीन सामग्रीको सङ्ग्रह गरी दुई वर्षको अन्तरालमा निर्माण गरिने भानुभक्त जन्मघरको कूल लागत रु १५ लाख रहने भानु जन्मघर निर्माणका लागि अग्रसर भएको संस्था पश्चिमाञ्चल विकास मञ्चले जनाएको छ ।
    भानु जन्मस्थल विकास समितिको समन्वयमा चारहजार ३५६ हेक्टरमा रहेको क्षेत्रफलभित्र निर्माण गरिने सो भानु जन्मघर आदिकवि भानुभक्तको स्मरणलाई ताजा र दुरुस्त बनाउने सम्पदाका रूपमा विकास गरिने मञ्चले आज जनाएको छ ।
    मञ्चका अध्यक्ष रामकाजी कोनेले नेपाली भाषा साहित्यका माध्यमबाट आमनेपालीलाई एकसूत्रमा आबद्ध गर्न महत्वपूर्ण योगदान पु¥याउने आदिकवि भानुभक्त आचार्यजस्ता व्यक्तिलाई राष्ट्रले अझै पनि उचित सम्मान दिन नसकेकाले आफूहरू त्यो सम्मान दिनेगरी भानु जन्मघर निर्माणको लक्ष्यमा अग्रसर भएको जानकारी दिनुभयो ।
    भानुभक्तको जन्मघर अलपत्र भएको यस अवस्थामा मञ्चले भानुभक्त जन्मघर बनाउन सःशुल्क ‘विशेष कविता महोत्सव र सांस्कृतिक कार्यक्रम’को आयोजना गरिएको घर निर्माणका लागि मञ्चद्वारा गठित प्रचारप्रसार समितिका संयोजक तथा उत्सर्ग प्रकाशन प्रालिका अध्यक्ष महेन्द्र शेरचनले बताउनुभयो ।
    विसं १८७१ असार २९ गते आइतबारका दिन चुँदीरम्घास्थित धर्मशाला तनहुँमा जन्मनुभएका भानुभक्त आचार्यको विसं १९२५ आश्विन ७ गते सोमबारका दिन निधन भएको थियो । सरकारले आदिकवि जन्मेको घरलाई संरक्षण गर्नका लागि विसं २०५२ मा विकास समिति ऐन, २०१३ बमोजिम भानु जन्मस्थल विकास समिति गठन गरेर विसं २०५७ मा पुनर्निर्माण गरे पनि विसं २०६१ मा भएको डढेलोले अहिले पुनः सो घर जिर्ण भएको छ ।
    वरिष्ठ कवि तुलसी दिवसले राष्ट्रले कलाकृति र सम्पदाको संरक्षणका लागि रकम खर्च गर्ने गरेको छ, तर त्यही सम्पदा र कलाकृतिलाई जन्माउने व्यक्तिको उचित संरक्षण गर्न नसकेको पछिल्लो उदाहरण भानुभक्तप्रतिको सरकारी उदासिनता हो भन्नुभयो ।     भानुभक्तको जन्मस्थललाई पूर्णरूपमा मर्मत गरी भानुभक्तको समयकै झझल्को दिने गरी पुनर्निर्माण गर्नसकेमा त्यस क्षेत्रको साहित्यिक मात्र नभई आर्थिक र पर्यटकीय विकासमा उल्लेखनीय टेवा पुग्ने कवि बुँद रानाले बताउनुभयो । 
    मञ्चले भानुभक्त जन्मघर निर्माणका लागि अर्थ समिति, साहित्य समिति र प्रचारप्रसार समिति गठन गरी आगामी फागुन ५ गते कमलादीस्थित प्रज्ञा भवनमा विशेष कविता महोत्सव तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने मञ्चले जनाएको छ । रासस

1 comments

हो हाम्रो तनहूँ जिल्लालाई चिन्हाउने भानु तनहुँका मात्र नभै सम्पूर्ण बिश्वकै हुन् । यसको संरक्षण र जगेर्ना गर्नु मुख्यत हामी तनहुँ बासीको मुख्य भूमिका हुन आउंछ । त्यसमा पनि पृथ्बीराजमार्गको डुम्रेमा भानु जन्मस्थल जाने ढोका र त्यो बाटो लाई कालो पत्रे बनाउन तनहुँ जिल्लाको कुनै बजेटबाट रकम बिनियोजन गरियोस । अनि प्रचार प्रसारका कामहरु तिब्र गतिमा लानु पर्ने हुन्छ ।

Write Down Your Responses