पुर्पक्षका लागि कारागारमा पाँच बालक

इ तनहुँ संवादददाता
तनहुँ पुस १७
बालबालिकालाई कारागारमा राख्न नपाइने कानुनी व्यवस्था हुदाँ हुदै पनि तनहुँ जिल्ला कारागारमा पाँच बालक पुर्पक्षका लागि थुनामा रहेका छन् । हत्याको आरोपमा चार बालकले एक महिना र जर्वजस्ती करणी उद्योगको आरोपमा एक बालकलाई एक वर्षअघि देखी जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि कारागार पठाएको हो ।
कारागारमा हत्याको अभियोगमा थुनामा रहेका बालकहरुमा १३ वर्षिय अशोक राना १५ वर्षिय सुरज कुमार छिनान १५ वर्षिय नन्द राना र १५ वर्षीय सुमन थापा रहेका छन् । गत कार्तिक २० गते तनहुँ बैदी स्थित सरस्वती निम्न माध्यामिक विद्यालयमा शिक्षक चुनबहादुर थापाको कुटपीटको क्रममा मृत्यु भएपछि हत्याको अभियोगमा तनहुँ जिल्ला अदालतले उनीहरु सहित रमेश श्रेष्ठ प्रकाश थापा र सन्तोष थापालाई पुर्पक्षका लागि तनहुँ जिल्ला कारागार पठाएको हो । घटनामा संलग्न सन्तोष थापालाई भने सरकारी वकिल कार्यालयले नाबालक भएकै आधारमा बालसुधार गृहमा पठाएको छ ।

अनुसन्धानका क्रममा अभिभावकले जन्म मितिको प्रमाण नल्याएका कारण उनीहरुको उमेरबारे जानकारी नभएको जिल्ला न्यायधिवक्ता बलराम त्रिपाठीले बताए । 'सन्तोषको विद्यालयबाट जन्ममिती प्रमाणित भएर नाबालक प्रमाणित भएको हो ।' उनले भने, 'अन्य नाबालकका अभिभावकले अनुसन्धानको क्रममा जन्म मितिको प्रमाण ल्याएनन् ।' जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रमा सन्तोष थापाको उमेर १५ नन्द रानाको १६ सुरज छिनानको १७ अशोक रानाको १६ सुमन थापाको १६ रमेश श्रेष्ठको १७ प्रकाश थापाको १७ र अशोक परियारको अन्दाजी १९ वर्ष उल्लेख गरेकेा छ । अशोक परियार अझै फरार छन् ।

सरकारी वकिल कार्यालयबाट अभियोग पत्रमा उनीहरुको उमेर नाबालक नदेखिएपछि उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार नारायण पण्डितले बताए । 'अदालतको बयानका क्रममा ४ जनाले नाबालक भएको दाबी गर्दै जन्मदर्ता पेश गरेका छन् ।' उनले भने 'अनुसन्धानबाट नाबालक ठहरिएको खण्डमा ऐन अनुसारको सुविधा दिइने छ । थुनछेकका लागि जिल्ला अदालतले दिएको आदेश बदरका लागि पुनरावेदन गरेर पुनरावेदन अदालतले बाल सुधार गृहमा पठाउने आदेश दिए उनीहरुलाई सुधार गृहमा पठाउन सकिने उनले बताए ।

४ वर्षिया बालिकालाई बलात्कार गरेको अभियोग पक्राउ परेका तनहुँसुर-८ का १५ बर्षिय बिमल थापा पनि २०६७ पुस २९ गतेदेखी पुर्पक्षका लागि थुनामा छुन् । उनको मुद्दा हालसम्म तनहुँ जिल्ला अदालतमा विचराधिन अवस्थामा रहेको छ । बालबालिका सम्बन्धी ऐन २०४८ को परिच्छेद ६ को १ क मा १४ देखी १६ वर्ष मुनीका बालबालिकाले अपराधजन्य कार्य गरेमा १६ वर्ष माथीका व्यक्तिलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ । कैदको रुपमा सजाय पाएमा बालबालिकालाई सुधार गृहमा राख्ने व्यवस्था भएको जिल्ला बालअधिकार अधिकृत सरिता कार्कीले बताइन् । बालकहरुको विषयमा कुनै जानकारी नपाएको भन्दै उनले नाबालक प्रमाणित भए बालबालिका ऐन अन्र्तगत बाल सुधार गृहमा पठाउन पहल गर्ने बताइन् ।

0 comments

Write Down Your Responses