घर भन्दा राम्रो चर्पी !

प्रेमप्रसाद पौडेल
पोखरीभञ्ज्याङ, पुष १६
    माटो र ढुंगाले कच्ची गाह्रोमा झुपडी घर, त्यसमा खरको छानो । हावाहुरी आउँदा घरै उडाउने हो कि भन्ने पिर । वर्षादमा पानी चुहिने र गर्मीमा आगोको जोखिम पनि उस्तै । तर शौचालय भने इट्टा र सिमेन्टको पक्की गाह्रो लगाएर बनाइएको छ ।
      वर्षदिन अघि सम्म वनजंगल र बारीको कुना खोज्दै हिँड्ने पोखरीभञ्ज्याङ–४, वेलचौताराकी पार्वती गुरुङ कच्ची घरमा बसेर भएपनि पक्की शौचालय प्रयोग गर्न पाउँदा दङ्ग छिन् । ‘शौचालय नहुँदा झाडीमा दिशापिसाब गर्न जानुपथ्र्यो,’, उनले भनिन्, ‘वर्षामा जुका र सर्पको डर हुन्थ्यो, अहिले ढुक्क भएका छौं ।’ केटाकेटीले पनि शौचालयमै दिशापिसाब गर्न थालेको उनले बताइन् ।
    ‘शौचालयमा दिशापिसाब गर्न थालेपछि साबुनपानीले हात धुने बानीको विकास भएको छ,’ उनले भनिन्, ‘साबुनपानीले हात धुन थालेपछि स्वस्थ रहन सहयोग मिलेको छ ।’ मजदुरी गरेर गुजारा चलाउने उनीहरुले ६ महिना अगाडि ७ हजार खर्च गरेर शौचालय बनाएका हुन् ।
    जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने अभियान अन्तर्गत शौचालय बनाउन जिल्ला विकास समिति तनहुँले प्यान, आधा बोरा सिमेन्ट र पाइप अनुदान दिएको थियो । अहिले पोखरीभञ्ज्याङ गाविसभर १२ घरमा शौचालय निर्माण हुन बाँकी रहेको गाविस सचिव हुत्तिमान विकले बताए । ‘आर्थिक अवस्था ज्यादै न्यून र असहायहरुको घरमा शौचालय निर्माण हुन सकेको छैन,’, विकले भने, ‘उनीहरुलाई गाविसले नै शौचालय निर्माण गर्न आर्थिक सहयोग गर्ने र गाविसलार्ई छिट्टै खुला दिशामुक्त घोषणा गर्छौ ।’ उक्त वडामा कच्ची घरभएका २० घरधुरीले पक्की शौचालय निर्माण गरेका छन् ।
    जिल्ला विकास समिति तनहुँ २०६८ असार मसान्तसम्म जिल्लालाई खुला दिशामुक्त घोषणा गर्ने अभियानमा लागिपरेको छ । हालसम्म तनहुँका २१ गाविस खुला दिशामुक्त घोषणा भइसकेका छन् ।

0 comments

Write Down Your Responses