८ वर्षपछि घर फर्किएका दिलीपले भने
'नेपाल आउन डर लागेको थियो'
आफ्नो पुर्खाैली घर अगाडी दिलीपचन्द्र हडडखले । आठ वर्ष अघि सेनाले पक्राउ गरी बेपत्ता पारेको उनी बिहीबार घर फर्किएका हुन् । तस्बिर : समुन्द्र पौडेल |
'द्धन्द्धकालमा वेपत्ता भएका दिलीप आठ वर्षपछि घर फर्किदाँ अन्य वेपत्ता परिवारमा समेत आफ्नो परिवारको सदस्य घर फर्किनेमा आशा पलाएको छ ।'
समुन्द्र पौडेल
तनहँु मंसिर २३
'म सामाखुसीमा हिडिरहेको थिए एक्कासी सेनाहरुले पक्राउ गरे ।' ८ वर्ष अघिको घटनालाई सम्झदै शुक्रबार दिलीपचन्द्र हड्डखलेले भने 'त्यसपछि कालो पट्टी बाधेर कहाँ लगे थाहा छैन् ।' २०६० साल माघ ७ गते तत्कालन शाही नेपाली सेनाले पक्राउ गरेपछि बेपत्ता भएका उनी ८ वर्षपछि बिहीबार घर फर्किएका हुन् ।
दमौली स्थित निर्मल उच्च माध्यमिक विद्यालयबाट २०५७ सालमा एसएलसी परिक्षा उत्तिर्ण गरेर १९ वर्षको उमेरमा डाक्टर पढ्ने चाहना अनुसार काठमाण्डौको अस्कल क्याम्पसमा भर्ना भएका उनलाई त्यस अघि नेपाली सेनाले असोजमा १७ घण्टासम्म यातना दिएर क्याम्पस प्रमुखको रोहबरमा छाडेको थियो ।
सेनाको यातना पश्चात केही समय व्यास-१ गल्बुबेसी स्थित घरमा विताएका उनी आफू नेविसंघको सकि्रय कार्यकर्ता भएको भन्दै अध्ययनका लागि राजधानी फर्किएका थिए । 'काठमाण्डौ गएको केही दिन पछि नै सेनाले पुनः पक्राउ गर् यो ।' उनले भने, 'सिमाना आसपासको क्षेत्रमा भारतीय प्रहरीले वेहोस अवस्थामा फेला पारेपछि लगेछ ।'
झण्डै डेढ महिना भारतीय प्रहरीको थुनामा रहेका उनलाई थुनामै रहेका अन्य भारतीय र नेपालीले सहयोग गरेका थिए । 'थानाबाट निस्किएपछि साथीहरुले सहरभन्दा टाढाको गाउँमा जान सल्लाह दिए ।' उनले भने 'यातनाका कारण म पनि घर फर्किन सक्ने अवस्थामा थिइन् ।' झण्डै ८ वर्ष सम्म बनारस देखी धेरै टाढाको मिर्जापुर गाउँको एक होटलमा व्यवस्थापनको जिम्मेबारी सम्हालेको उनले बताए ।
'कुनै दिन परिवारसंग भेट हुन्छु भन्ने आश लागेको थियो ।' उनले भने 'लामो समयसम्म परिवारसंग सम्पर्क हुने कुनै माध्यमनै पाइन् ।' एक महिना अघि फेसबुक एकाण्टमा सर्च गर्ने क्रममा भाईलाई फेला पारेपछि भाई सुदीप मार्फत घरमा फर्किएको उनले बताए ।'
'नेपाल आउन डर लागि रहेको थियो ।' उनले भने, 'भाईले पहिलाको जस्तो अवस्था नभएको र आफू समेत घर फर्किने बताएपछि म केही साथी लिएर आए ।' घर फर्किएको थाहा पाएपछि छिमेकी र आफन्तको घरमा घुइचो लागेको भन्दै दिलीपले सबै खुसी भएको बताए ।
बेपत्ताको सुचीमा रहेको छोरा दिलीप घर फर्किएपछि उनका परिवारले शुक्रबार पत्रकार सम्मेलन मार्फत दिलीपलाई सार्वजनिक गरेका हुन् । दिलीप घर फर्किएको समाचार प्रकाशमा आएपछि राजनैतिक दलका नेताहरु समेत उनलाई भेट्न शुक्रबार उनको घर पुगेका थिए । द्धन्द्धकालमा राज्य पक्षबाट वेपत्ता पारिएका दिलीप घर फर्किएपछि अन्य वेपत्ता परिवारमा समेत आफ्नो परिवारको सदस्य घर फर्किनेमा आशा पलाएको नेकपा एमालेको राष्ट्रिय प्रतिनिधी परिषदका सदस्य प्रतापलाल श्रेष्ठले बताए ।
दिलीप घर फर्किएपछि अन्य वेपत्ता पनि कहि कतै अन्यत्र स्थानमा आसय लिएर बसेको हुनसक्ने इन्सेक प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले बताए । 'दिलीप घर फर्किएकोमा देशका थुपै वेपत्ता परिवारको पीडामा मलम लगाउने काम भएको छ ।' उनले भने, 'आशा छ अन्य वेपत्ता नागरिकहरु पनि घर फर्किउन् ।' इन्सेकको तथ्याङ अनुसार तनहुँमा बेपत्ताको संख्या १८ पुगेको छ ।
0 comments
Write Down Your Responses