महानगरमा नयाँ कार्यकारी


इ तनहुँ संवाददाता
काठमाडौं, मंसिर ६
काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृतमा केदारबहादुर अधिकारी आएका छन् । गणेश राईको सरुवा भएपछि भारतस्थित नेपाली राजदूतावासका काउन्सिलर रहेका अधिकारीलाई महानगरमा ल्याइएको हो ।
उनले सोमबार पदभार ग्रहण गरे । पदभार ग्रहण समारोहमा उनले फोहर र ट्राफिक व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

‘विदेशी नेपाल आउँदा महानगरबाटै पहिलो प्रभाव पर्ने हुँदा सुधारका लागि पहल गर्छौं’ उनले भने, ‘महानगर हाम्रो मुहार हो । मान्छेले सुरुमै मुहार हेर्छ र राम्रो नराम्रो अनुमान गर्छ । त्यसैले मुहार राम्रो बनाउनुपर्छ ।’
घरजग्गा लगायत अन्य आर्थिक कारोबार विद्युतीय तथा अनलाइन प्रविधिबाट चाँडै अपनाउन उनले कर्मचारीलाई निर्देशनसमेत दिए । महानगरको गिर्दो अवस्थाबारेमा आफूले विभिन्न सञ्चार माध्यममा पढेको भन्दै केही सुधार गर्न सकिन्छ कि भनेर चुनौती बोकेर आएको उनको भनाइ थियो । ‘अवसर र चुनौती छन्,’ उनले भने । उपत्यकामा प्रदूषण बढ्दै गएको भन्दै त्यसबारेमा पनि चाँडै अध्ययन गरेर प्रदूषणरहित सहर बनाइने उनको भनाइ थियो । विशेषगरी कर्मचारीले महानगरका जनताको कामलाई चाँडोभन्दा चाँडो गरी छिटो र छरितो महानगरका रूपमा पहिचान गराउन आफूले सक्दो प्रयास गर्ने उनले दाबी गरे ।

0 comments

Write Down Your Responses