चार वर्षअघि अपहरण गरी हत्या गरिएकी भोलाकुमारीको मुद्दा फैसला

देवर र सौतेला छोरालाई जन्मकैद-
ध्रुव दङ्गाल
सिन्धुपाल्चोक, असोज १३
अंश दिनबाट रोक्न देवर र सौतेला छोराद्वारा अपहरणपछि हत्या गरिएकी काभ्रे, देवभूमी बालुवा–८ की भोलाकुमारी आचार्यका आफन्तले चार वर्षपछि राहत महसुस गरेका छन्। यी दुवैलाई अदालतले जन्म कैद सुनाएको छ।

२०६४ मङ्सिर २७ गते दायर हत्या मुद्दाको फैसला सुनाउँदै नुवाकोट जिल्ला अदालतले सोमबार उनका देवर शालिकराम भन्ने छन्दप्रसाद आचार्य र सौतेला छोरा दिवस आचार्यलाई जन्म कैद र हत्यामा संलग्न मन्पी पाण्डे र सरोज ब्लोनलाई १० वर्ष कैद सजाय तोक्यो।
न्यायाधीश पदमराज भट्टको इजलासले यो फैसला सुनाएपछि पीडित आफन्तले ढिलै गरी भए पनि शान्तिको सास फेरे। 'बल्ल कानुनको शासनको अनुभव भयो'- मृतककी कान्छी छोरी अञ्जु आचार्यले नागरिकसँग भनिन्।
२०६४ मङ्सिर १८ गते काठमाडौं सिनामङ्गल–९ बाट अपहरणमा परेकी ५० वर्षीया भोलाकुमारीको शव भोलिपल्ट नुवाकोटको ककनी गाविसस्थित रानीपौवामा भेटिएको थियो। मृतककी जेठी छोरी सिर्जना आचार्यले त्यसै महिनाको २७ गते नुवाकोटमा चार जनालाई विपक्षी बनाएर किटानी जाहेरी दिएकी थिइन्।
हत्याको कारण भोलाकुमारीले काठमाडौं जिल्ला अदालतमा दायर गरेको अंश मुद्दा थियो। बेल्जियम बस्ने पति दामोदरले हेला र दुर्व्यवहार गर्दै अंश दिनबाट रोकेपछि जेठी पत्‍नी भोलाकुमारीले काठमाडौं जिल्ला अदालतमा २०६३ कात्तिकमा अंश मुद्दा दायर गरेकी थिइन्। देवर छन्दप्रसादलगायतले आफूलाई मार्ने योजना बनाएको सुनेको भन्दै उनी सुरक्षा माग्दै २०६४ असोज २४ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयसमेत पुगेकी थिइन्।
अदालतले अंश मुद्दाको पेशी तोकेको अवस्थामै उनको अपहरणपछि हत्या भएको थियो।

0 comments

Write Down Your Responses