भलिबलको उपाधी भानुमतिलाई

इ तनहुँ संवाददाता 
तनहुँ चैत्र २
नेपाल तरुण दल तनहँुको आयोजनामा आइतबारदेखि दमौलीमा सञ्चालित जिल्लास्तरीय अन्तर गाविस÷नपा पुरुष भलिबल प्रतियोगिताको उपाधि भानुमति गाविसले जितेको छ । उपाधिको लागि शुक्रबार गजरकोट गाविससँग निकै प्रतिस्पर्धाका साथ भएको खेलमा भानुमति २५–१६, २७–२५ र १५–६ को सेटमा विजयी भएको हो ।
भानुमतिलाई उपाधि दिलाउन सो टिमका प्रमुख खेलाडी सुनिल श्रेष्ठको महत्वपूर्ण हात रहेको थियो । सशस्त्र प्रहरीका सुनिल नेपाली राष्ट्रिय टोलीका प्रमुख खेलाडी पनि हुन् । उनी सहितको सशस्त्रको टिमले हालै धनगढीमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा भलिबलको उपाधी जितेको थियो ।
जिल्लामा पछिल्ला वर्षहरुमा सञ्चालित भलिवल प्रतियोगितामा भानुमति गाविस लगातार विजयी हुँदै आएको छ । यस अघि जिल्ला खेलकुद विकास समितिको आयोजनामा २०६४, २०६५ र २०६६ सालमा सञ्चालित जिल्ला स्तरीय रनिङ सिल्ड भलिबल प्रतियोगितामा लगातार विजयी भई भानुमतिले सो रनिङ सिल्ड सधैका लागि आफ्नो कब्जामा लिएको थियो ।
शनिबार गजरकोट गाविससँग भएको खेलको सुरुको नतिजा भानुमतिको पक्षमा नभएपनि पछि सम्हालिँदै सो टिम पुरानै लयमा फर्किएको थियो । आफ्नो टिमले जित हासिल गरेपछि प्रतिक्रिया दिँदै सुनिलले भानुमतिले यस पटक पनि आफूलाई अब्बल टिमको रुपमा साख जोगाउन सकेको बताए । भानुमति गाविसका पछिल्ला उत्पादन खेलाडीहरुले अझै मिहीनेत गर्नुपर्ने उनको भनाई थियो ।
जितसँगै भानुमतिले ५० हजार नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र हात पारेको छ । दोस्रो हुने गजरकोटले ३० हजारमा चित्त बुझाउनु प¥यो । त्यस्तै फिरफिरेले तेस्रो स्थान हात पारेको थियो । उसले २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । सान्त्वना भने बैदी गाविस भएको छ ।
प्रतियोगितामा गजरकोटका खेलाडीहरुले विभिन्न ३ विधामा उत्कृष्ट खेलाडीको पुरस्कार हात पारेका छन् । सर्वाेत्कृष्ट खेलाडी गजरकोटका भरत ठडराई, सर्वाेत्कृष्ट सटर गजरकोटकै विजय थापा र सर्वाेत्कृष्ट लिफ्टर पनि गजरकोटकै दर्शन थापा भएका छन् । त्यस्तै सर्वाेत्कृष्ट डिफेन्डर भने बैदी गाविसका इश्वर थापा र सर्वाेत्कृष्ट ब्लकर भने फिरफिरेका धिरजसिंह ठकुरी भए । प्रतियोगितामा विजयी गाविस तथा खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामशरण महत र नेपाल तरुण दलका निवर्तमान केन्द्रीय महासचिव पुष्प पराजुलीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा २८ गाविस र १ नगरपालिकाको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses