पढाई सञ्चालन गर्ने सत्यवती जवरजस्ती बन्द (फोटोहरु सहित)

इ तनहुँ संवाददाता 
दमौली, १६ फागुन

विद्यालय बन्द भएपछि घर फर्कदै सत्यवती उच्च माविका विद्यार्थी/तस्बिरहरु : कृष्ण न्यौपाने

विद्यालय बन्द भएपछि घर फर्कदै सत्यवती उच्च माविका विद्यार्थी

विद्यालय बन्द गर्न पुगेका शिक्षक

    सोमबार विद्यालय सञ्चालन भएको दमौली स्थित सत्यवती उच्चमावि आन्दोलनरत शिक्षकहरुले जवरजस्ती बन्द गराए । आइतबारको विद्यालय बन्दको कार्यक्रममा ऐक्यबद्दता जनाएपनि सत्यवती उच्च माविले सोमबार भने विद्यालय सञ्चालन गरेको थियो । सँधैको बन्दले विद्यार्थीको पठन पाठन प्रभावित हुने भएकोले विद्यालय सञ्चालन गरेको विद्यालय प्रशासनले जनाएपनि आन्दोलनरत शिक्षकहरुले ‘जे सुकै भए पनि’ विद्यालय बन्द गर्न धम्की दिएका थिए ।
विद्यालय बन्द गर्न पुगेका शिक्षक र सत्यवतीका प्राचार्यबीच भनाभन हुँदै

विद्यालय बन्द गर्न पुगेका शिक्षक

जिल्ला शिक्षा कार्यालयमा धर्नामा बसेका शिक्षकहरु

जिल्ला शिक्षा कार्यालयमा धर्नामा बसेका शिक्षकहरु

    सत्यवतीमा कक्षा सञ्चालन भईरहेको सूचना पाएपछि बन्द गराउन सत्यवती उच्च मावि पुगेका शिक्षक संघ संगठनका प्रतिनिधिहरुले तत्काल पढाई बन्द नगरे जे पनि हुने भन्दै सत्यवतीका प्राचार्य इन्द्रप्रसाद पौडेललाई धम्की दिएका थिए । नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन र गणतान्त्रिक शैक्षिक मञ्चमा आवद्ध शिक्षकका प्रतिनिधिहरुले सत्यवतीले आन्दोलनमा असहयोग गरेको भन्दै प्रतिगामीको बिल्ला भिराएका थिए । सत्यवती बन्द गराउन करिब ५० जना शिक्षकहरु गएका थिए ।
    सत्यवती उच्च माविका प्राचार्य पौडेलले केही समय पढाएपछि बन्द गर्ने बताएपनि आन्दोलनरत शिक्षकहरुले भने तत्कालै पढाई बन्द गर्न दवाव दिएका थिए । पौडेलले धेरै संख्यामा विद्यार्थीहरु भएकोले तत्काल पढाई बन्द गर्दा समस्या आउने भएको हुँदा केही समय पछि बन्द गर्ने बताउँदा पनि शिक्षक संघ संगठनका प्रतिनिधिहरुले भने त्यो विद्यालयको आन्तरिक समस्या भएको बताउँदै कुनै पनि हालतमा विद्यालय बन्द गर्न धम्की सहितको दवाव दिएका थिए । आन्दोलनरत शिक्षकहरुको दवाव पछि सत्यवती उच्च मावि विहान ११ बजे पछि बन्द भएको थियो ।
    आइतबार पूर्व निर्धारित कार्यक्रम अनुसार विरोध प्रर्दशन गरेका शिक्षकहरुलाई राजधानी काठमाडौं लगायत अन्य स्थानमा प्रहरीले पक्राउ र धरपकड गरेको विरोधमा शिक्षकहरुले सोमबार पनि विद्यालय बन्द गराएका थिए । सोमबारको बन्दको प्रभाव सरकारी तथा सामुदायिक विद्यालयमा परेपनि संस्थागत विद्यालयमा भने पढाई सञ्चालन भएको थियो ।
    यसैबीच आन्दोलनरत शिक्षकहरुले सोमबार जिल्ला शिक्षा कार्यालयमा कामरोक धर्ना दिएका छन् । अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दीसहित सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने, बालविकासमा पढाउने शिक्षकलाई प्राथमिक तह सरहको पारिश्रामिक दिनुपर्ने, राहतलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्नुपर्ने, उच्च माविको दरबन्दी सिर्जना गर्नु पर्ने, राजनीतिक आस्थाका आधारमा राज्यले निष्कासन गरेका शिक्षकलाई पुनर्बहाली गर्नुपर्ने, शान्ति सम्झौता पछि मारिएका शिक्षकहरुलाई सहिद घोषणा गर्नु पर्ने, द्वन्द्वमा बेपत्ता भएका शिक्षकहरुको अवस्था सार्वजानिक गर्नु पर्ने लगायत माग राख्दै देशभरका शिक्षकहरुले आन्दोलन गर्दै आएका छन् ।
    शिक्षकहरुको धर्नाको कारण कार्यालयको कुनै पनि काम हुन सकेन । धर्ना कार्यक्रम बिहीबारसम्म सञ्चालन हुने छ भने शुक्रबार शिक्षकहरुले जिल्ला सदरमुकाममा विरोध प्रर्दशन र सभा गर्ने छन् । 

0 comments

Write Down Your Responses