गैर आवासीय नेपालीलाई ढुक्क भएर लगानी गर्न प्रधान मन्त्रीको आह्वान

विष्णु पोखरेल
काठमाडौं, असोज २५
प्रधान मन्त्री बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई स्वदेशमा लगानी गर्नका लागि आह्वान गरेका छन्। उनले सन् २०१२-१३ लाई नेपाल लगानी वर्ष घोषणा गर्ने तयारी भइरहेको बताउँदै नेपालको आर्थिक विकासका लागि लगानीको आह्वान गरेका हुन्।


उनले गैर आवासीय नेपाली संघको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनको उद्‍घाटन गर्दै पहिलो पटक प्रधान मन्त्रीका हैसियतले आर्थिक सेल बनाएर काम गर्ने प्रयास थालेको बताए। उनले प्रति ब्यक्ति आम्दानी ३ हजार डलर पुर्‍याउने महत्त्वकांक्षी लक्ष्य राखेको बताउँदै कूल ग्राहस्थ उत्पादनको ४५ प्रतिशत लगानी गर्ने वातावरण तयार पार्न आफू लागिपरेको समेत बताए। उनले वार्षिक ७ लाखलाई रोजगार दिन सक्ने वातावरण तयार हुनुपर्ने बताए। शान्ति प्रकृया पूरा भएपछि र संविधान बनेपछिको एजेन्डा आर्थिक सामाजिक विकास भएको उनको भनाई थियो। आर्थिक विकास नभई शान्ति नहुने बताउँदै उनले दुई महिनामा संविधानको खाका आउने बताए। नेपालमा पहिलेभन्दा लगानी गर्न वातावरण सहज भएको उनको दावी छ। 'तपाँईहरु विदेशमा भएपनि तपाँईहरुको मन नेपालमै छ,' भट्टराईले भने।

0 comments

Write Down Your Responses