पैदल दौडयात्री शाही तनहुँमा

इ तनहुँ संवाददाता
तनहुँ, १५ वैशाख
 

    शान्ति र संविधान निर्माणमा दबाब दिने उद्देश्यले पैदल दौड यात्रा थालेका एक युवा बिहीबार तनहुँको दमौली आइपुगेका छन् । दलहरु आ–आफ्नै स्वार्थमा रुमलिँदा निर्धारित समयमै शान्ति र संविधान निर्माण हुन नसकेको भन्दै शान्ति र संविधान निर्माणमा दबाब दिन दौडयात्रा थालेका जुम्ला तातोपानी–३ का कुलबहादुर शाही बिहीबार दमौली आइपुगेका हुन् ।
    २३ वर्षीय शाहीले ‘नेपालको शान्ति र संविधानका लागि मेरो जीवन’ भन्ने अभियानका साथ २०६८ पुष २५ गते जुम्लाबाट पैदलयात्रा थालेका थिए । पहिलो चरणको माघ ६ गतेसम्म मध्यपश्चिमको जुम्ला, कालिकोट, दैलेख, सुर्खेत, बाँके जिल्लाको यात्रा दौडेर पार गरेको शाहीले बताए । ‘पहिलो चरणमा ९ दिनमा ३१८ किलोमिटर दौडेर यात्रा पूरा गरे,’ उनले भने ।
    दोस्रो चरणमा शाहीले फागुन ३ गते सुर्खेतबाट दौड सुरु गरेका थिए । हालसम्म शाहीले ३२ जिल्ला दौडेर पार गरिसकेका छन् । बिहीबार साँझ नै पोखरा पुग्ने उनले बताए । ‘बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म निरन्तर दौडछु,’ उनले भने, ‘दैनिक ५५ किलोमिटरको दूरी पार गर्छु ।’
    जुम्ला बहुमुखी क्याम्पसमा विएड प्रथम वर्षमा अध्ययनरत शाही व्यक्तिगत खर्चमा नै दौड सुरु गरेको बताउँछन् । ‘सबै आफ्नै खर्च हो । दौडका क्रममा ठाउँ–ठाउँमा प्रहरीले सहयोग गर्ने गरेका छन्,’ उनले भने । दौडयात्रामा हालसम्म ३० हजार रुपैयाँ खर्च भइसकेको उनले बताए ।
    उनले बिहीबार कास्की पुगेपछि स्याङ्जा, पाल्पा, रुपनदेही, नवलपरासी, चितवन लगायका जिल्लाहरुमा जाने बताए । ‘काठमाडौं पुगेर मेरो अभियान सकिन्छ,’ उनले भने, ‘काठमाडौं पुगेर राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुलाई भेट्छु ।’

0 comments

Write Down Your Responses