विजयका बावजुद नेपाल बाहिरिने अवस्थामा (फोटो फिचर)


विनोद पाण्डे
काठमाडौं, मंसिर २०
एसिसी ट्वान्टी-२० कपमा मंगलबार कुवेतसँग पाएको १ रनको सनसनी विजयको खुशी नेपालले ३ घन्टा भन्दा बढी मनाउन सकेन्। हङकङले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साविक उपविजेता युएईमाथि ४ विकेटको अप्रत्यासित विजय हात पारेपछि नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।

३ खेलको समाप्तीमा हङकङ, युएई र नेपालको समान ४ अंक छ। समूह 'बी' मा कुवेतको २ अंक छ। २ खेल खेलेको साउदी अरेबिया दुबैमा पराजित भएको छ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल पुग्ने टोलीले मार्चमा युएईमा हुने ट्वान्टी-२० को विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ। हङकङ ±४.६५०, युएई ±१.४३३ को रन रेटका साथ पहिलो दुई स्थानमा छ। नेपालको रन रेट -०.१७८ मात्र छ।
नेपालले बुधबार साउदी अरेबियासँग खेल्ने छ। हङकङले बुधबार हुने दोस्रो खेलमा कुवेतको सामना गर्नेछ। युएईले बिहीबार साउदी अरेबियासँग खेल्ने छ। हङकङ र युएईले आ-आफ्नो खेलमा विजय हात पारेमा नेपालले साउदीलाई हराएमा पनि रन रेटमा पछाडी पर्न सक्छ। कुवेतले हङकङलाई पराजित गरेमा मात्र नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ।

सुवास खकुरेलले ३२ बलमा ८ चौकासहित ४० रन बनाउदा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २६ रन बनाएको थियो। म्यान अफ द म्याच पृथु बाँस्कोटाले अन्तिम ओभरमा ३ विकेट लिएपछि नेपालले कुवेतको इनिङलाई १९.५ ओभरमा १ सय २५ रनमा सिमित भयो। २००९ मा युएईमा भएको पछिल्लो संस्करणमा विनोद भण्डारीले अन्तिम बलमा छक्का गरी स्कोर बराबरी गरी नेपाललाई कुवेतमाथी बल आउटमा जिताएका थिए।

अर्को खेलमा ओपनर अमजद अलीले अविजित ७९ रन बनाएपछि युएईले ४ विकेट गुमाई १ सय ४४ रन बनाएको थियो। इरफान अहमदले ४२ बलमा ५ चौका र ५ छक्कासहित ७० रन बनाएपछि हङकङले १२ बल अगाडी नै लक्ष्य पुरा गर्‍यो।

0 comments

Write Down Your Responses