प्रधानमन्त्रीको स्वागतमा १३ विद्यालयका विद्यार्थी

  • विद्यालयमा माओवादीको जनसभा

प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वागतका लागि लामबद्ध विद्यार्थी ।

समुन्द्र पौडेल
गोरखा मंसिर २८
प्रधानमन्त्री डा. बाबुराम भट्टराई मंगलबार गृह जिल्ला गोरखाको घ्याल्चोक आउँदा उनलाई गाविसका १३ विद्यालयका विद्यार्थी स्वागतमा बसेका थिए । एकिकृत नेकपा माओवादीले घ्याल्चोक ५ माझटार स्थित ज्ञानमार्ग उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न आएका उनको स्वागतमा विद्यार्थीहरु २ घण्टा भन्दा बढि लाममा बसेका थिए ।
'२ घण्टा भन्दा बढि समय लाइनमा बसेर वितायौ ।' ज्ञानमार्ग उमाविमा कक्षा ७ मा अध्ययनरत रोशन भुजेलले भने, 'विद्यालयमा पढाई नभएपछि स्वयंसेवकको रुपमा खटेका छौ ।' प्रधानमन्त्री भएपछि पहिलो पटक घ्याल्चोक पुगेका भट्टराईको स्वागतमा गाविस भरीका १३ सरकारी विद्यालयले विद्यार्थीलाई कार्यक्रम स्थलमा ल्याएका थिए ।
ुप्रधानमन्त्रीको आगमनले १३ विद्यालयकै विद्यार्थी पढ्न पाएनन् ।' एक शिक्षकले भने, 'सबै विद्यालयका शिक्षक विद्यार्थी स्वागतका लागि यही आएका छन् ।' घ्याल्चोक गाविसका विभिन्न वडामा रहेका सुर्याेदय मावि शक्ति प्रावि त्रिकला निमावि ज्ञानज्योती प्रावि नेत्रज्योती प्रा।वि शिव निमावि लगायतका विद्यालयबाट विद्यार्थीहरु फूलमाला सहित कार्यक्रम स्थलमा सहभागी भएका थिए भने जनसभाको आयोजना गरिएको ज्ञानमार्ग उच्च माध्यमिक विद्यालयका विद्यार्थी दिनभर स्वयंसेवकको रुपमा खटेका थिए ।
विद्यालयमा राजनैतिक जनसभाको आयोजना गरिएको र विद्यार्थीलाई स्वागतका लागि प्रयोग गरिएकोमा अभिभावकले समेत असन्तोष व्यक्त गरेका थिए । विद्यालयलाई जुनसुकै राजनीतिक दलले कार्यक्रम गर्ने थलो बनाएकाले त्यही अनुसार विद्यालयमा जनसभा गरिएको ज्ञानमार्ग उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद नेपालीले बताए । 'माओवादी गोरखाले विद्यालयमा कार्यक्रम गर्ने जानकारी दिएको थियो ।' उनले भने, 'उपयुक्त मैदान र व्यवस्थापनमा समेत सजिलो हुने भएकाले विद्यालयलाई नै रोज्ने गरिएको छ ।'
माओवादीले जनसभाको प्रचारप्रसार समेत विद्यालयका विद्यार्थी मार्फत गराएका थियो । गाविसका सबै सरकारी विद्यालयका विद्यार्थी प्रधानमन्त्रीको कार्यक्रममा सहभागी हुदाँ मंगलबार १३ विद्यालयका झण्डै ३ हजार विद्यार्थी पठनपाठनबाट बिाचत भएका थिए ।
विद्यालयमा जनसभाको आयोजना गर्नु कुनै नौलो विषय नभएको भन्दै गोरखाका माओवादी सेक्रेटरी चुडामणि खड्का 'प्रकाश'ले माओवादीले यसअघि पनि विद्यालयमा जनसभाका कार्यक्रम संचालन गर्दै आएको बताए । देशका प्रधानमन्त्री गाउँमा आउँदा सबै समुदाय उत्सुक हुने भएकाले विद्यार्थीहरु स्वतस्फूर्त कार्यक्रममा सहभागी भएको उनको दाबी थियो ।

0 comments

Write Down Your Responses