श्रीमतीले शिलान्यास, श्रीमानले उद्घाटन
![]() |
२० गाविस जोड्ने दरौदी नदीमाथीको नवनिर्मित मोटरयवल पुलको शुक्रबार उद्घाटन पश्चात अनुगमन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । |
समुन्द्र पौडेल
दरौदी (गोरखा), पुस २३
गोरखा छेपेटार स्थित दरौदी नदी पुलको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शुक्रबार उद्घाटन गरेका छन् । पुलको रिबन काटेर पुलमाथी मुस्ताड म्याक्स गुडाएर प्रधानमन्त्री भट्टराईले पुलको उद्घाटन गरेका हुन । स्थानीय विकास मन्त्रालयबाट निर्माण गरिएको दरौदी पुलको झण्डै साडे ३ वर्ष अघि प्रधानमन्त्री पत्नी हिसिला यामीले शिलान्यास गरेकी थिइन् ।
'म अर्थमन्त्री हुदाँ यो पुललाई योजनामा समावेश गरेको थिए' पुलको उद्घाटन गर्दै भट्टराईले भने, 'मेरै पत्नी हिसिला जीले शिलान्यास गरेको पुल मैले उद्घाटन गर्दैछु ।' बाल्यकालमा दरौदी नदी पार गर्न निकै समस्या झेल्नु परेको अवस्थालाई सम्झदै प्रधानमन्त्री भट्टराईले बाल्यकालदेखीको दरौदी नदी माथी मोटर पुलको सपना बल्ल पुरा भएको बताए । 'जघारमा हिड्दा दरौदीमाथी पुलको कल्पना गर्ने गर्थे,' उनले भने, 'बाल्यकालको सपना पुरा भएको देख्दा असाध्यै खुसी छु ।' उक्त पुलको निर्माण पश्चात गोरखाको ११ किलोबाटै प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गाउँ खोप्लाड पुग्न सकिन्छ । यस अघि खोप्लाङ जान तनहुँको तुरतुरे गोरखाको पालुङटार हुँदै जानु पथ्यो ।
पुलको निर्माण पश्चात गोरखाका २० गाविसका झण्डै एक लाख बासिन्दाले १२ महिनै आवतजावत गर्ने सुविधा पाएको प्रधानमन्त्री भट्टराईले बताए । 'यस क्षेत्रका बासिन्दाको समस्या मैले बाल्यकालदेखी नै देख्दै आएको छु,' उनले भने, 'दरौदी माथी पुल बनेपछि यस क्षेत्रका जनतालाई राहत महसुस हुनेछ ।' गरिबी र बेरोजगारी हटाउनका लागि सबै ठाउँमा मोटर बाटो पुग्नु पर्ने भन्दै उनले दरौदी नदीमा पुल निर्माण भइसकेकाले हुलाकी मार्गलाई पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा विस्तार गर्नुपर्ने बताए । बैकल्पिक मार्ग हालको पृथ्वी राजमार्ग भन्दा झण्डै ५० किलोमिटर कम दुरीको हुनेछ ।
२०६५ जेठ ११ गते तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यामीले शिलान्यास गरेको पुल ५ करोड ५६ लाख ७४ हजार रुपैयाको लागतमा निर्माण भएको हो । ३६ महिनाको अवधीमा निर्माण कार्य पुरा भएको पुलको लम्बाई ८७.६० मिटर रहेको छ भने चौडाई ४.२५ मिटर रहेको छ । आरुघाटमा बुढी गण्डकी नदी माथी र चेपे नदीमा पुल निर्माण कार्य पुरा भएपछि त्यस मार्गलाई पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा संचालन गर्न सकिने ११ किलो छेपेटार भालुस्वारा वारपाक सडक योजना गोरखाका आयोजना प्रमुख गणेश बहादुर कडेलले बताए ।
0 comments
Write Down Your Responses