ब्रेललिपी छाम्दै, विद्यार्थी पढाउँदै
![]() |
बेल लिपीको सहयोगमा कक्षा ६ का विद्यार्थीलाई अध्यापन गराउँदै अकला निम्न माध्यमिक विद्यालयका दृष्टिविहीन शिक्षक चिन बहादुर कुमाल |
समुन्द्र पौडेल
तनहुँ, माघ ४
शिक्षकको पहिचान भनेकै चक र डक्टर हुन् । तर तनहुँ मनपाङ–१, छबिसे स्थित अकला निम्न माध्यमिक विद्यालयका शिक्षक चिन बहादुर कुमाल सेतो छडीको भरमा सधै हातमा ब्रेललिपी लिएर कक्षा कोठा प्रवेश गर्छन् ।
राम्रोसंग आँखा नदेख्ने ३१ वर्षिय कुमाल विद्यालयमाका निम्न माध्यमिक तहका विद्यार्थीलाई विगत ४ वर्षदेखी सामाजिक, जनसंख्या र विज्ञान विषय अध्यापन गराउँदै आएका छन् । अन्य शिक्षकले कालोपाटीमा लेखाएर पढाउने गरेपनि दृष्टिबिहीन शिक्षक कुमाल ब्रेललिपी छाम्दै पुस्तकको विषयबस्तु व्याख्या गरेर पढाउने गर्छन् ।
प्रावि राहत कोटामा काम गर्दै आएका कुमालले कक्षा ८ सम्मका विद्यार्थीहरुलाई ब्रेल लिपीको माध्यमबाट पढाउने गरेका हुन् । आदिकवी भानुभक्त बहुमुखी क्याम्पस दमौलीमा विएड अध्ययनरत उनी आफ्नो परिक्षा दिन र विद्यार्थीको उत्तरपुस्तिका परिक्षण गर्न सहयोगीको सहयोग लिन्छन् । ‘सहयोगीले विद्यार्थीको उत्तरपुस्तिका पढेर सुनाएपछि मैले नम्बर दिन्छु ।’ उनले भने, ‘क्याम्पसमा परिक्षा दिदाँ समेत सहयोगीबाट सहयोग लिनु पर्छ ।’
चिन बहादुर कुमाल मात्र होइनन, जनगणपती माध्यमिक विद्यालय जामुने–७, अधिकारी थोकमा पढाउने तुलसी थापा (कुमाल) पनि दृष्टिबिहीन छिन् । २०६४ सालबाट विद्यालयमा अध्यापन गराउँदै आएकी उनले कार्यालय कोठामै ब्रेललिपीको माध्यमबाट कक्षाको पूर्व तयारी गरेर कक्षाकोठामा छिर्ने गर्छिन् । ‘अफिसकोठामै कक्षाको तयारी गरेर बिना किताब कक्षाकोठामा पुग्छु,’ उनले भनिन, ‘कक्षामा विद्यार्थीलाई व्याख्या गरेर पढाउछु ।’
कक्षा ३ मा नेपाली, कक्षा ४ मा सामाजिक, कक्षा ६ र ७ मा नैतिक र पूर्व व्यवसायिक विषय अध्यापन गराउँने तुलसीलाई विद्यार्थीले समेत सहयोग पु¥याउँदै आएको विद्यालयकी प्रधानाध्यापक सकुन्तला घिमिरेले बताइन् । ‘विद्यार्थीले नै कक्षाकोठा देखी कार्यालय र कार्यालयदेखी कक्षाकोठामा पु¥याउछन् ।’ उनले भनिन, ‘यसले विद्यार्थीमा अपाङ व्यक्तिलाई माया गर्नुपर्छ भन्ने भावना समेत जगाएको छ ।’ चिन बहादुर र तुलसी श्रीमान श्रीमती हुन् ।
सदरमुकाम दमौली नजिकैको वेदव्यास प्राथमिक विद्यालयकी दृष्टिबिहीन शिक्षिका शुसिला पण्डित भने आफ्ना विद्यार्थीलाई नै ब्रेललिपी पढाउन सिकाउछिन् । तनहुँकै देवघाट स्थित ब्रजयोगिनी माविमा २०६१ सालदेखी अध्यापन गराउँदै आएकी उनले यसै शैक्षिक सत्रदेखी बेदव्यास प्राविका विद्याथीलाई अध्यापन गराउन थालेकी हुन् । विद्यालयमा अध्ययनरत १० दृष्टिबिहीन विद्यार्थीलाई सुशिलाले बे्रललिपी सिकाउने गरेको विद्यालयका प्रधानाध्यापक मोहन बहादुर बस्नेतले बताए ।
जिल्ला शिक्षा कार्यालय तनहुँले दिएको तथ्याङ अनुसार तनहुँ जिल्लामा ३ महिला सहित ६ दृष्टिबिहीन शिक्षक शिक्षिकाले विद्यालयमा अध्यापन गराउँदै आएका छन् । घिरिङ सुन्धारा स्थित चन्द्रज्योती माध्यमिक विद्यालयमा कृष्ण प्रसाद अधिकारी, रबिचन्द्र प्राथमिक विद्यालय जामुनेमा दामोदर दवाडी र चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालय कुमालटारीमा सिता सिग्देलले अध्यापन गराउँदै आएको जिल्ला शिक्षा कार्यालय तनहुँका शाखा अधिकृत विश्वराज आचार्यले बताए ।
दृष्टिबिहीन शिक्षकहरुले अध्यापन गराएर केहि गर्न सक्दैनन भन्ने सामाजिक मान्यतालाई चुनौती दिएको आचार्यले बताए । ‘दृष्टिबिहीन शिक्षक शिक्षिकाले ब्रेललिपीकै पाठ्यपुस्तकको आधारमा विद्यालयमा अध्यापन गराउने गरेका छन् ।’ उनले भने, ‘ब्रेललिपीमा शिक्षक सहयोगी पुस्तिका नहुदाँ उनीहरुलाई समस्या परेको छ ।’ दृष्टिबिहीन शिक्षकहरुको अध्यापनको शैलीप्रति विद्यार्थीहरु समेत सन्तुष्ट रहेका छन् ।
0 comments
Write Down Your Responses