बजारमा संगीत बिक्री हुन छाडेको छ -विमल डाँगी, गायक

पानसमा बत्ती बालेको गीतका गायक विमल डाँगी कुनैबेला चर्चाको शिखरमा थिए । डोल्पाबाट काठमाडौं छिर्दा गायनबाट नै आफ्नो भविष्य खोज्ने सोच बोकेका डाँगीले अहिलेसम्म धेरै गीतहरु गाइसके । प्राय विछोडका गीतहरुमा बजार देखिने गरेका गायक डाँगीले समाज, गाउँलाई पनि झल्कने खालका गीतहरु पनि गाएका छन् । पछिल्लो समयमा आफ्नो जन्मभूमि डोल्पालाई नै केन्द्रीत गरेर नमस्ते डोल्पा चलचित्र पनि निर्देशन गरिसकेका डाँगीले भर्खरै मात्र नयाँ एल्बम मैले माया गर्न जानिन की बजारमा ल्याएका छन् । प्रस्तुत छ उनै डाँगीसँग सुमन बैरागी ले गरेको कुराकानी 

आजभोली के गर्दै हुनुहुन्छ ?
गीतसंगीतमै व्यस्त भइरहेको छु । भर्खरै मैले बजारमा ल्याएको एल्बम ‘मैले माया गर्न जानिन की’ को बजार प्रबद्र्धनमा व्यस्त छु । एल्बमको रेस्पोन्स राम्रो आएको छ । जसमा राजकुमार बगरको शब्द सजिएको छ । सीआरबीटीमा पनि टपटेन भित्र परिरहेको छ । त्यस्तै रेडियो राजधानीमा लोकदोहोरीका कार्यक्रम संचालन गर्छु र बेलुका पानस रोधीक्लबमा गीत गाउने काम गर्छु ।

अहिलेसम्म कति गीत गाउनु भयो ?
मेरो आफ्नै एल्बम १७ वटा छन् । कलेक्सन एल्बमहरुको कुरा गर्दा ३० भन्दा माथि पुगिसकेका छन् । साथै रेडियो नेपालमा रेकर्ड गरिएका गीतहरु १० वटा जति छन् । केही गीतहरु रेकर्डकै क्रममा छन् । गाउने क्रमलाई निरन्तरता दिँदा आगामी दिनमा अझ सशक्त बन्दै थपिँदै जान्छ भन्ने मलाई लागेको छ ।

तपाईं किन सेन्टी गीतहरुमा मात्रै बढी देखिनुहुन्छ ?
होइन स्रोताहरुले नै यस्ता गीतहरुको माग बढाइदिएका हुन् नि । पानसमा बत्ती बालेको गीतले स्रोताहरुलाई जसरी आकर्षित ग¥यो त्यसरी नै मेरो सांगीतिक छविलाई अझ उच्च बनाइदियो । हुन त मैले गाएका गीतहरु समाजप्रति लक्षित भएको, गाउँप्रति लक्षित भएको पनि छ । तर स्रोताहरु बढी मायाप्रेम र बिछोडमा रमाउने भएकाले ती गीत बजारमा ल्याउनु नै आजको आवश्यकता हो ।


संगीतको अहिलेको बजार कस्तो पाउनुभएको छ ?
अहिले संगीतको बजार डामाडोल छ । कुनैबेला लोकदोहारीको क्षेत्र यति फराकिलो भएको थियो अहिले आएर भताभुङ्ग भएको छ । बजारमा संगीत बिक्री हुन छाडेको छ । प्रविधिको विकाससँगै हामी विकास हुन नसक्दा गीतसंगीतले राम्रो बजार पाउन सकेको छैन । संगीत जति चर्चामा रहे पनि एल्बम निकालेर त्यसको बिक्रीबाट लगानी उठाउन सकिने अवस्था छैन । साथै राम्रो प्रतिभाको कदर बजारले गर्न नसकेको अवस्था पनि देखिन्छ ।

पछिल्लो समयमा नमस्ते डोल्पा भन्ने चलचित्र बनाउनुभयो, यसमा तपाईंको भूमिका के छ ?
नमस्तो डोल्पामा मेरो निर्देशन, संगीत र कथा मात्रै छ । एउटा गरिब दुःखीको पीडालाई पर्दामा उतार्ने कोशिस गरिएको छ । जसलाई डोल्पाकै स्थानीय भाषामा उतार्ने प्रयास गरेका छौं । अहिले यो चलचित्रले रोल्पा, रुकुम, डोल्पा, नेपालगञ्ज, हुम्ला, मुगु, जाजरकोट, कालिकोट लगायतका ठाउँहरुमा प्रदर्शन भइसक्यो भने काठमाडौंमा विश्वज्योती र अष्टनारायणमा विशेष सो पनि गरिसकेका छौं । दर्शकहरुले राम्रो चलचित्र भएको प्रतिक्रिया दिनुभएको छ । जसले मलाई अझ यस क्षेत्रमा लाग्ने हौसला मिलेको छ ।

चलचित्र कस्तो बनाउनुभएको छ ?
चलचित्रमा सबै पक्ष सबल बनेका छन् । संगीतले त झन् राम्रो चर्चा पायो । तिम्रो माया चर्किएको ऐनासरी... बोलको गीतको सीआरबीटी ५६ हजारभन्दा माथि पुगिसक्यो । संगीत, निर्देशन र कथावस्तु सबै सबल बनेका छन् । यो चलचित्र हेरेपछि एकचोटी डोल्पाका मात्र होइन सबै क्षेत्रका गरिब दुःखीहरुको कथालाई यसले समेट्नेछ । यस चलचित्रले देखाएको पीडा नेपालका धेरै दुर्गम भेगका गरिबहरुसँग मिल्छ ।




,

0 comments

Write Down Your Responses