'भाइको सास दिनुस् या लास'

समुन्द्र पौडेल
तनहुँ, असोज २५
'बिहान उठी दैलाको तस्बिर, छातीमा राखेर
रुनेछिन् आमा बेपत्ता आफ्नो छोरोलाई सम्झेर...'
खोप्लाङ-२, चापाभञ्ज्याङका प्रेम न्यौपानेले सुरिलो भाकामा यी पंक्ति वाचन गर्दा प्रधानमन्त्री बाबुराम भट्टराई केही क्षण स्तब्ध भए।
करिब नौ वर्षअघि नेपाली सेनाले नियन्त्रणमा लिई बेपत्ता पारेका दीपकचन्द्र न्यौपानेका दाजु प्रेमले आफ्नोमात्र होइन, देशभरका बेपत्ता परिवारका पीडा समेटेर रचेको यी पंक्ति शुक्रबार प्रधानमन्त्रीलाई सुनाउने अवसर पाए।
'काठमाडौंमा एक कार्यक्रममा भेट्दा पनि मैले हजुरलाई जानकारी गराएको थिएँ,' प्रधानमन्त्री भएर पहिलोपटक जन्मगाउँ खोप्लाङ आएका प्रधानमन्त्री भट्टराईलाई सम्झाउँदै उनले भने, 'कि सास खोजिदिनुपर्‍यो, कि लास।'
पृथ्वीनारायण क्याम्पसको तत्कालीन स्ववियु निर्वाचन संयुक्त वार्ताटोलीका सदस्य रहेका २९ वर्षीय दीपकचन्द्रलाई वार्ता गरेर फर्किने क्रममा सादा पोसाकका सुरक्षाकर्मीले २०५९ फागुन ५ गते पोखराको अमरसिंह चोकबाट गिरफ्तार गरी बेपत्ता पारे। भाइको अहिलेसम्म अत्तोपत्तो नपाएको ४४ वर्षीय प्रेम न्यौपानेले बताए।
बेपत्ता भाइको खोजीका लागि बारम्बार एकीकृत माओवादी, मानवअधिकारकर्मी र विभिन्न निकायका ढोका ढकढक्याएका न्यौपानेले भट्टराईको कार्यकालमा बेपत्ता नागरिकको खोजी हुनेमा आशावादी रहेको बताए। 'राज्यले बेपत्ता नागरिकका परिवारलाई कि सास दिनुपर्‍यो, कि लास,' उनले भने, 'प्रधानमन्त्रीका नाताले बेपत्ता परिवारको जवाफदेही बाबुराम बन्नुपर्छ।'
न्यौपानेको पीडा सुनेर उनकै बूढामावली खलकका प्रधानमन्त्री केहीबेर भावुक बने। भट्टराईले बेपत्ताप्रति आफूमा गम्भीर चिन्ता रहेको तर नेपाली सेना र अरू राजनीतिक दलबीच सहमतिबाट मात्र उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुने जनाए।
द्वन्द्वकालमा गोरखाबाट २३ व्यक्ति बेपत्ता भएको अनौपचारिक सेवा क्षेत्र केन्द्र (इन्सेक) ले जनाएको छ। जसमा चारजना त प्रधानमन्त्री बाबुराम भट्टराईको जन्मथलो खोप्लाङकै परेको इन्सेक गोरखा प्रतिनिधि भीमलाल श्रेष्ठले बताए। बेपत्ता हुनेमा खोप्लाङ- २ का दीपकचन्द्र, पूर्णचन्द्र आचार्य, तोयानाथ न्यौपाने र खोप्लाङ-४ का राजु गुरुङ छन्। द्वन्द्वकालमा गोरखासहित अन्य जिल्लामा भएका भिडन्तमा गोरखाका ३ सय ४२ जनाको ज्यान गएको इन्सेकले जनाइएको छ।
विद्यार्थी राजनीतिमा सक्रिय भाइको पर्खाइमा रहेका न्यौपानेले विभिन्न कार्यक्रममा राज्य पक्षसँग माग राखे पनि अहिलेसम्म अत्तोपत्तो छैन। कहीँ भाइ फेला पर्छ कि भन्ने आशले उनी दुई वर्षदेखि मान्छेका हुलमा 'बेपत्ता परिवारको पीडा' कविता सुनाउन हतारिन्छन् - मान्छेको शरीर मान्छेले लुट्ने यो कस्तो कानुन, कि लास चाहियो कि सास चाहियो राज्यले भनून।'

0 comments

Write Down Your Responses