अन्नपूर्ण फाइनान्स अब कैलाश विकास बैंक

इ तनहुँ संवाददाता
तनहुँ, ७ वैशाख
 
     काठमाडौं उपत्यका बाहिरको पहिलो फाइनान्स कम्पनीको रुपमा सुरु भएको अन्नपूर्ण फाइनान्सले वैशाख १२ गतेदेखि कैलाश विकास बैंकको रुपमा कारोवार सञ्चालन गर्ने भएको छ । २०४९ चैत्र ६ गते स्थापित अन्नपूर्ण फाइनान्स कम्पनी लिमिटेड राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कैलाश विकास बैंक लिमिटेडको नामबाट सञ्चालनमा आउन लागेको हो ।
    स्थापनाकालदेखि नै उत्कृष्ट सेवा पु¥याउँदै आएको कम्पनीले नेपाल राष्ट्र बैंक लगायतका संस्थाहरुबाट कदरपत्र समेत प्राप्त गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बिहीबार जारी गरेको विज्ञप्तीमा जनाइएको छ । संस्थागत सुशासन, पारदर्शीता, दिगो वृद्घि, स्तरीय ग्राहक सेवा आदि जस्ता विषयहरुलाई आत्मसाथ गर्दै कार्य गरेको हुँदा यस कम्पनीलाई नेपाल राष्ट्र बैंकले चैत्र १६ को पत्रबाट कैलाश विकास बैंक लि. को नामवाट ‘ख’ वर्गको राष्ट्रियस्तरको विकास बैंकको रुपमा वित्तीय कारोवार सञ्चालन गर्न इजाजतपत्र प्रदान गरेको जनाइएको छ ।
     कम्पनीको २०६८ चैत्र मसान्त सम्ममा चुक्ता पूँजी रु.७० करोड ४३ लाख, कूल निक्षेप रु.४ अर्ब ४२ करोड ८६ लाख, कूल कर्जा रु. ३ अर्ब ८९ करोड ४१ लाख र लगानी रु.२५ करोड ८४ लाख रहेको विज्ञप्तीमा उल्लेख छ । हाल विभिन्न जिल्लाका १९ शाखाबाट सेवा प्रदान गर्दै आएकोमा यस आर्थिक वर्षमा ३ वटा शाखा थप गर्ने योजना रहेको छ ।

0 comments

Write Down Your Responses