‘गिद्ध संरक्षण गर्न हातेमालो आवश्यक’

इ तनहुँ संवाददाता
दमौली, ८ वैशाख
 

    प्रकृतिको कुचिकार मानिएको गिद्ध लोप हुँदै गएको भन्दै सरोकारवालाले यसको संरक्षणमा सबैले हातेमालो गर्नुपर्ने बताएका छन् । नेपाल पंक्षी संरक्षण संघको आयोजना र जिल्ला वन कार्यालय तनहुँको समन्वयमा बिहीबार दमौलीमा आयोजित गिद्ध संरक्षण सचेतना गोष्ठिमा वक्ताहरुले वातावरण संरक्षणमा गिद्धको महत्वपूर्ण सहयोग हुने भएकाले गिद्धको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।
    ‘गिद्धको उपस्थिति हुनु वातावरण संरक्षण हुनु हो,’ वन कार्यालय तनहुँका प्रमुख रामबाबु पौडेलले भने, ‘यसको संरक्षणमा सबै जुट्नु अपरिहार्य छ ।’ गिद्ध संरक्षणका लागि सरकारी स्तरबाट गिद्ध संरक्षण कार्यक्रम संचालन भइरहेको उनले बताए । ‘गिद्ध संरक्षणमा अन्तर्राष्ट्रिय दातृ निकायको समेत ठूलो सहयोग छ,’ उनले भने ।
    नेपाल पंक्षी संरक्षण संघका भुपाल नेपालीले विभिन्न वैज्ञानिक खोज र अनुसन्धानका आधारमा पशु उपचारमा प्रयोग हुने डाईक्लोफेनक नै दक्षिण एसियामा गिद्धहरुको संख्यामा कमी आउनुको प्रमुख कारण रहेको बताए । नेपालमा गिद्ध संरक्षण गर्नका लागि औषधी व्यवस्था विभागले सन् २००६ देखि लागु हुने गरी पशुमा प्रयोग हुने डाइक्लोफेनेक औषधिको उत्पादन तथा आयातमा रोक लगाइसकेको जानकारी दिए ।
    ‘जनावरको सिनो खाएर वातावरणलाई सफा राख्न साथै रेविज, प्लेग, हैजा आदि जस्ता घात रोग फैलन नदिन गिद्धले मद्दत गर्छ,’ उनले भने, ‘त्यसैले गिद्ध संरक्षणमा जुट्नु सबैको दायित्व हो ।’ २००२ देखि २०१० सम्मको अवधिमा नेपालमा ९१ प्रतिशत गिद्ध लोप भइसकेको उनले बताए । उनका अनुसार नेपालमा सानो खैरो, डंगर, सुन, सेतो, राज, हिमाली, खैरो, हाडफोर र लामो ठूडे गिद्धका प्रजाति पाइन्छन् ।
    असोजदेखि जेठसम्म प्रजनन् कार्य हुने गिद्धले वर्षमा एउटामात्रै फूल पार्ने गर्दछ । नेपालीका अनुसार गिद्ध संरक्षणका लागि नेपालका ६ ठाउँमा गिद्ध रेष्टुरेण्ट खोलिएको जानकारी दिए । गिद्धसम्बन्धी अध्ययन गरेकी रेविका गुरुङ्गले दमौलीमा ५ प्रकारको गिद्ध पाइने बताइन् । नोभेम्बर महिनामा सबैभन्दा बढि ६०–७० र जुनमा २०–२५ वटा मात्रै गिद्ध देखिने उनले जानकारी दिइन् ।

0 comments

Write Down Your Responses