फोटो पत्रकार महासंघ तनहुँको कार्य समिति विस्तार

इ तनहुँ संवाददाता
तनहुँ, माघ ८

    फोटो पत्रकार महासंघ नेपाल, तनहुँ शाखाले सञ्चालन गरेको ‘तस्विरमा तनहुँ’ अभियानलाई सफल पार्नका लागि कार्यसमितिमा नयाँ पदाधकारीहरु नियुक्त गरेको छ । महासंघ तनहुँ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षतामा आइतबार दमौलीमा बसेको बैठकले सह–सचिव, कार्यसमिति सदस्य र साधारण सदस्य गरी चार जनालाई चयन गरेको शाखाका कोषाध्यक्ष कृष्ण न्यौपानेले जानकारी दिए । बैठकले सह–सचिवमा राजकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरुमा डिपी अधिकारी, रुपा गुरुङ्ग, सरोज पोख्रेललाई चयन गरेको हो ।
    तनहुँ जिल्लालाई नजिकबाट नियाल्न, यस जिल्लाको वस्तुस्थिति, भौगोलिक बनावट, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, साहित्यिक, पर्यटकीय क्षेत्र तथा यहाँको भाषा, संस्कृति, विभिन्न जातजातिका बारेमा सहज रुपले एउटा पुस्तकको माध्यमबाट सचित्र जानकारी गराउने उद्देश्यका साथ फोटो पत्रकार महासंघ नेपाल तनहुँ शाखाले ‘तस्विरमा तनहुँ’ अभियान सञ्चालन गरेको शाखा अध्यक्ष खड्काले बताए ।
    अभियान अन्तरगत तनहुँ जिल्लाका ४६ वटै गाउँ विकास समितिका ४ सय १४ वटा वडा र व्यास नगरपालिकाको ११ वटै वडाका कुना काप्चामा पुगेर त्यहाँ लुकेर, प्रचार प्रसारको अभावमा लोपको संघारमा पुगेका एवं पछाडी परेका जातजाति, विभिन्न समुदाय, धार्मिक स्थल, पर्यटकीय सम्भाव्यता एवं ऐतिहासिक स्थल तथा त्यस ठाउँका कला, संस्कृति, सम्भाव्यतालाई तस्विरको माध्यमबाट उजागर गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानका प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा तस्विर खिचाएर यहि पुस २२ गतेबाट शुभारम्भ गरिसकिएको छ ।
    अभियान सफल पार्न सञ्चारकर्मीहरु एकल रुपमा लागेर सम्भव नहुने भएकाले पूर्ण रुपमा सफल बनाउनका लागि जिल्ला विकास समिति, गाउँ विकास समिति, नगरपालिका, विभिन्न गैरसरकारी संघ संस्था, पर्यटन क्षेत्रसंघ आवद्ध विभिन्न संघ संस्था, स्थानीय आमा, बुबा समुह, युवा क्लव, विद्यालय, स्वास्थ्य संस्था लगायत स्थानीय बासिन्दासंग सहकार्य गरेर अगाडि बढ्ने र यस अभियानलाई सफल बनाउनका लागि सबैसँग फोटो पत्रकार महासंघ तनहुँ शाखाले सहयोगको अपिल गरेकोछ ।

0 comments

Write Down Your Responses