नयाँ जहाज ल्याउनु पहिलो प्राथमिकता : पर्यटनमन्त्री विष्ट

इ तनहुँ संवाददाता 
दमौली, माघ २९


    पर्यटनमन्त्री लोकेन्द्र विष्टले नेपालमा नयाँ जहाज ल्याउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । दरै राष्ट्रिय मुक्तिमोर्चा नेपाल तनहँुको प्रथम जिल्ला अधिवेशनको शनिबार व्यास नगरपालिका ६, चिन्तुटारमा उद्घाटन गर्दै पर्यटनमन्त्री विष्टले २५ वर्षदेखि नेपालमा नयाँ जहाज नआएकोले त्यसतर्फ आफू गम्भीर भएर लागिपरेको बताए ।

    ‘म भन्दा अगाडी २१ जना पर्यटनमन्त्री भइसक्नुभयो,’ उनले भने, ‘कसैको कार्यकालमा नयाँ जहाज आउन सकेको छैन । मैले मेरै कार्यकालमा जहाज ल्याउन कार्ययोजना सहित काम गरिरहेको छु ।’ देशभर बन्द अवस्थामा रहेका विमानस्थलको मर्मतसम्भारका लागि बजेट छुट्याइएकाले जानकारी दिँदै पर्यटनमन्त्री विष्टले विमानस्थल सञ्चालनको आवश्यक पूर्वाधार तयार गरिने बताए ।
    उनले पहाडी, हिमाली क्षेत्रमा बन्द रहेका पुराना विमानस्थल र नयाँ विमानस्थल निर्माणका लागि पनि आफू लागिपरेको बताए । ‘पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार तयार पार्नु जरुरी छ,’ उनले भने, ‘त्यसका लागि नयाँ विमानस्थल बनाउने र पुराना विमानस्थल मर्मत गर्ने मेरो प्रमुख प्राथमिकता हो ।’
    उनले पर्यटन दशक (सन् २०२०) सम्म ८ वटा पर्यटन वर्ष मनाउन लागिएको बताउँदै सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा सुरु गरिसकिएको बताए । ‘२०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाइरहेका छौं, भ्रमण वर्ष सफल पार्न सबै एकपटक लुम्बिनी जाऔं,’ उनले भने ।

    नेपाल अत्यन्त सुन्दर देश भएकाले पर्यटकीय गन्तव्य बनाउन सरकार प्रतिबद्ध रहेको पर्यटनमन्त्री विष्टको भनाई थियो । ‘हाम्रो देश संसारमै सुन्दर छ,’ उनले भने, ‘सरकारले नेपालका पर्यटकीय गन्तव्य पत्ता लगाउँदै प्रचारप्रसारमा विशेष जोड पु¥याइरहेको छ ।’    
    उनले सांस्कृतिक र ऐतहासिक पर्यटनलाई समेत जोड दिनुपर्ने बताउँदै ग्रामीण क्षेत्रमा रहेका पर्यटकीय स्थलको पनि उजागार गर्न सक्नुपर्नेमा जोड दिए । माओवादी पोलिटव्युरो सदस्य समेत रहेका मन्त्री विष्टले शान्ति र संविधान निष्कर्षमा पु¥याउन माओवादी प्रतिबद्ध रहेको बताए ।
    दरै राष्ट्रिय मुक्ति मोर्चा तनहुँका अध्यक्ष जनक दरैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी सातौ डिभिजनका कमाण्डर सन्तु दरै, एकीकृत नेकपा माओवादी तनहुँका इन्चार्ज हरिबहादुर चुमान लगायतले मन्तव्य राखेका थिए ।

0 comments

Write Down Your Responses