३ लाख ४० हजारलाई हात्तीपाइलेको औषधी खुवाइने


इ तनहुँ संवाददाता
तनहुँ, पुष १८

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले यस वर्ष जिल्लाका ३ लाख ४० हजार जनालाई हात्तीपाइलेको औषधी खुवाउने भएको छ । कार्यालयले यही पुष २२ गते जिल्लाका विभिन्न केन्द्रहरुबाट हात्तीपाइलेको औषधी खुवाउन लागेको हो ।
केन्द्रहरुबाट औषधी खुवाउन छुटेकालाई घर–घरमा पुगेर औषधी खुवाइने जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत चन्द्रमणि अधिकारीले सोमबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । हात्तीपाइलेको औषधी खुवाउन १ हजार भन्दा बढि स्वयंसेविका र स्वास्थ्यकर्मी खटाइने उनले बताए ।
लामखुट्टेको टोकाईबाट सर्ने हात्तीपाइले रोगबाट हाल १२ करोड मानिस संक्रमित छन् । यसमध्ये १.५ करोड मानिसहरुमा हात्तीपाइले र २.५ करोडमा अण्डकोष तथा यौनाङ्ग सुन्निएको पाइएको छ । बाँकी ८ करोड मानिसमा साधारण खाले लक्षणहरु पाइएको छ ।
हात्तीपाइले (फाइलेरिया) रोग निवारण कार्यक्रम हात्तीपाइले रोगबाट प्रभावित विश्वका सबै मुलुकहरुबाट सन् २०२० भित्र हात्तीपाइले रोग निवारणार्थ विश्व स्वास्थ्य संगठनको रणनीति अनुसार ८३ मुलुकमा सञ्चालन भइरहेको छ ।
हात्तीपाइलेको औषधी दुई वर्षमुनिका बालबालिकाहरु, गर्भवती महिला र सिकिस्त विरामीहरुले खान नहुने जनस्वास्थ्य अधिकृत अधिकारीले बताए । हात्तीपाइलेको औषधी ६ वर्षसम्म लगातार खानुपर्ने र तनहुँमा अहिले खुवाउन लागेको ५ औं पटक रहेको उनले बताए । सन् २००० देखि २००९ सम्ममा हात्तीपाइले रोगबाट प्रभावित नेपाल लगायत भारत, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याण्ड तथा अफ्रिका र दक्षिण अमेरिका मुलुकहरुका गरी हालसम्म यो कार्यक्रम अन्तर्गत विश्वका ५३ देशका ८४ करोड ५० लाख मानिसले सेवन गरिसकेको जनस्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट प्रमोद सोतीले बताए ।

0 comments

Write Down Your Responses