चितवन कारागार काण्ड : पौडेलको निधन, चितवन बन्द घोषणा

इ तनहुँ संवाददाता
चितवन, पुस २
चितवन कारागारमा आक्रमणमा परेका तरुण दल चितवन अध्यक्ष शिव पौडेलको निधन भएको छ। उनको निधनको खबरलगत्तै चितवनमा प्रमुख जिल्ला अधिकारी र प्रहरीप्रमुखसहितको बैठक सुरु भएको छ ।
पौडेलको आज मध्यरातमा निधन भएको प्रहरी स्रोतले जनाएको छ। उनको मृत्युको अस्पताल प्रशासनले सार्वजनिक गरिसकेको भने छैन ।

हत्या अभियोगमा कैदमा रहेका पौडेलसहित ५ जनामाथि जेलभित्रै आक्रमण भएको थियो। केही दिन चितवनमै उपचार गरी पौडेललाई राजधानी ल्याइएको थियो। जेल आक्रमणपछि जिल्ला प्रहरी प्रमुख, जेलर, प्रमुख जिल्ला अधिकारी लगायतलाई निलम्बन गरिएको थियो ।


चितवन बन्द घोषणा

पौडेलको निधनपछि आक्रोशित तरुण दलले जिल्ला बन्द घोषणा गरेको छ। सरकार र प्रहरी प्रशासनले सुरक्षा दिन नसकेकाले पौडेलको निधन भएको भन्दै तरुण दलले अनिश्चितकालिन चितवन बन्दको घोषणा गरेको हो।

घटनाको बारेमा सत्यतथ्य बाहिर ल्याउनु पर्ने ,पीडित परिवारलाई सरकारले जिम्मा लिनुपर्ने, पौडेललाई शहिद घोषणा गर्नुपर्ने ,दोषीहरुलाई कडा कारबाही गर्नु सहितका चारवटा माग आफूहरुले तय गरेको तरुण दल चितवनका सचिव प्रेम पाठकले बताए।

चितवन बन्द सँगै ठाउँमा ठाउँमा तरुण कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका छन। पूर्वी चितवनको सौराहा चोक र नारायणगढको लायन्स चोकमा तरुण कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका छन।
रत्ननगरको टाँडीमा सवारी समते अवरुद्ध पारिएको जानकारी तरुण दलले दिएको छ। बन्दका कारण अहिले चितवनका सडकमा लामो तथा स्थानिय रुटका सवारी चलेका छैनन।

फाट्ट फुट्ट मोटरसाइकल र रिक्साहरु तथा बिरामी बोक्ने एम्बुलेन्स भने चलेका छन। टाँडीमा बन्दमा चलाएको भन्दै एउटा ट्रक तोडफोड भएको छ।
यसैबीच चितवनको शान्ति सुरक्षा दिगो बनाउन बिहानदेखि बसेको स्थानिय प्रहरी र प्रशासनको आकस्मिक बैठक अझै जारी छ। सम्भावित दुर्घटना हुन नदिन आवश्यक तयारी बैठकमा भैरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

उता पौडेलको निधनपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नेपाली काँग्रेस केन्द्रीय समितीको बैठक काठमाडौमा बसिरहेको छ। औपचारिक निर्णयपछि निधन भएका पौडेलको शव अन्त्येष्टीका लागि चितवन ल्याईने काँग्रेस स्रोतले जानकारी दिएको छ।


0 comments

Write Down Your Responses