ब्राम्हण, क्षेत्री लगायतको बन्दले जनजीवन प्रभावित (फोटो फिचर)

इ तनहुँ संवाददाता
तनहुँ, २९ वैशाख
 

    राष्ट्रिय अखण्डता र जातिय सद्भावको पक्षमा ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी, रानाभाट र दलित समाजद्वारा गठित राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिले आह्वान गरेको दुई दिने नेपाल बन्दको दोस्रो दिन शुक्रबार पनि जनजीवन प्रभावित भएको छ ।


    सडकमा यातायातका साधान कुदेका छैनन् । शिक्षण संस्था, बजार तथा कलकारखाना बन्द हुँदा विद्यार्थी तथा मजदुर प्रभावित भएका छन् । गाडी नचल्दा सर्वसाधारणले बढी कठिनाई भोग्नु परेको छ ।
    संघर्ष समितिले राज्यको पुर्नसंरचना, जाति, भाषा, धर्मका आधारमा नगरी भौगोलिक निकटता, प्रशासनिक अनुकुलता, श्रोत र साधनको उपलब्धता र आर्थिक सम्भाव्यताका आधारमा उत्तर–दक्षिण सीमा जोडिने गरी हुनुपर्ने माग गर्दै नेपाल बन्दको आह्वान गरेको हो । साथै साथै आर्य खस, क्षत्री, ब्राह्मण, ठकुरी, रानाभाट दशनामी र दलित लगायत जातीलाई अन्यबाट हटाई जातीय पहिचान, समानता र अधिकार सहित आदिवासीमा परिभाषित गर्नुपर्ने उनीहरुको माग रहेको छ ।


    जिल्लाका प्रमुख व्यापारिक बजारहरु दमौली, डुम्रे, आँबुखैरेनी, खैरेनीटार, दुलेगौंडा, भीमाद सहित पर्यटकीय बजार बन्दिपुरमा पनि बन्दको पूर्ण प्रभाव परेको छ । पर्यटक, कुटनीतिक, प्रेस, दुध, तरकारी बोक्ने गाडी भने सञ्चालनमा आएका थिए । तर पनि केही पर्यटक बसलाई बन्दकर्ताले केही समय रोकेका थिए । पर्यटक बसमा चढेर आएका आन्तरिक पर्यटकलाई ओरालेर मात्र ती सवारी साधनहरु सञ्चालन गर्न दिइएको थियो । रोकिएका पर्यटकको सवारी साधन प्रहरीको सहयोगमा सुचारु गराइएको थियो ।

0 comments

Write Down Your Responses